देश

अरुण तेस्रो परियोजनाः सामान्य उपचार पनि पाउँदैनन् मजदुर

संखुवासभा, पुस २–केही समयअघि संखुवासभामा निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत पश्चिम नेपालका एक मजदुरको निर्माणस्थलमा काम गर्दागर्दै पहाडमाथिबाट खसेको ढुंगाले टाउकोमा लागेर ज्यान गयो । गम्भीर चोट लागेका मजदुरको तत्काल उपचार नहुँदा ज्यान गयो । आयोजना निर्माणस्थलमा यस्ता कैयौं दुर्घटना हुन्छन् । आयोजना निर्माणका क्रममा मजदुर घाइते भएका वा मृत्यु भएका घटना सार्वजनिक हुने गरेका छैनन् ।

परियोजनाको निर्माणस्थलका कुनै मजदुर दुर्घटनामा परेर घाइते भएमा वा बिरामी परे भने सवारीसाधन व्यवस्था गर्न घण्टौं लाग्ने र ४र५ घण्टा टाढाको जिल्ला अस्पताल खाँदबारी ल्याउनुपर्छ । यति ठूलो आयोजना निर्माणस्थलमा आकस्मिक उपचार सुविधा छैन । समयमै अस्पताल र्पुयाउन नसके ज्यान गुमाउनुपर्ने बाध्यता छ । हजारौं मजदुर रहेको आयोजना स्थलमा सामान्य उपचार गर्ने स्वास्थ्य संस्था र चिकित्सकसमेत छैनन् । आयोजनास्थल ड्याम साइट र पावर हाउसस्थलमा करिब ४ हजारभन्दा बढी मजदुर कार्यरत छन् ।

मेसिन, विकट भूगोल र फरक संस्कृति आनीबानी भएका हजारौं मजदुर काम गर्न आयोजनामा नियमितजसो दुर्घटनामा पर्ने गरेको र सामान्य चोटकपटकको पनि उपचार पाउन नसकेको मजदुरको गुनासो छ । आयोजनाले हालसम्म २५ प्रतिशतभन्दा बढी काम सम्पन्न गरेको जनाएको छ । तर, आयोजना क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराएको छैन । जिल्ला अस्पताल वा अन्य स्वास्थ्य संस्थामा उपचारका लागि जानुपर्दा आयोजनाको एम्बुलेन्स पनि छैन । जिल्लाबाट झिकाउनुपर्दा कम्तिमा ४ घण्टा लाग्छ । आयोजनास्थलमा काम गर्न मजदुरको समय–समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने विकास सम्झौतामा उल्लेख भए पनि त्यो काम नभएको मजदुरको भनाइ छ ।

Featured