देश

राहत लिएर मध्यरात सडकमा पुगे मन्त्री

जनकपुर, पुस २–मंगलबार राती १० बजे प्रदेश २ का मन्त्री, प्रशासनिक अधिकारी, क्लोथ बैंकका अधिकारीहरूको एक टोली जनकपुरधामको राम मन्दिरमा जम्मा भए । सबैको हातमा टर्च लाइट र कम्बल थियो । सडकपेटीमा सुतिरहेकालाई जानकारी नदिइ कम्बल ओढाए । जाडोको बेला फुटफाथमा खुला आकाश मुनि चिसो रात कटाउन बाध्य गरिबहरुको अवस्था हेर्न मन्त्रीलगायतको टोली रातीभरी अवलोकनमा पुगेका थिए ।

प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह न्यानो कपडा लिएर सडकमा पुगेका थिए । उनीहरुको अवस्था हेरेर राहत वितरण गरिएको मन्त्री साहले बताए । ‘जसका लागि राहत आवश्यक हो उनीहरूले पाएका छैनन् । यस्तो चिसोमा खुला आकाशमुनि रात बिताइरहेको अवस्था देख्दा भान भयो,’ मन्त्री साहले भने । गत एक दुई तीनदिनदेखि धनुषा जिल्लाको विभिन्न स्थानमा कम्बल र जाडोको कपडा वितरण गरिए पनि सडकपेटीमा सुत्नेहरू जाडोमै रात गुजार्न बाध्य छन् । कुनै राहत आउँदा सीधै गाउँमा वितरण हुने गरेको थियो । तर सडक मानवका लागि कसैले सोँचेका थिएनन् ।

धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, क्लोथ बैंक धनुषाका अध्यक्ष राजीव झा, राजपा नेपालका केन्द्रीय सदस्य मनोज चौधरी, प्रदेश अस्पतालका अध्यक्ष संजय सिंह, धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्की, सशस्त्र प्रहरीका निरीक्षक प्रकाश भट्ट, जनकपुर युथ क्लबका पूर्व अध्यक्ष मनिष झालगायतको टोली रातभर जनकपुरधामको हरेक सडकमा घुमेका थियो । ‘हामी जाँदा उनीहरू शरिर कमाउँदै सुतिरहेका थिए । कम्बल ओडाएपछि राहतको महशुस गरे र धन्यवाद दिए’ क्लोथ बैंका अध्यक्ष राजीव झाले भने । सबैभन्दा बढी जानकी मन्दिर, राम मन्दिर, गंगासागर नजिक जाडोबाट पीडितहरू फेला परेका छन् ।

सहायक प्रजिअ पोखरेलले जाडोका बेला यस्तै व्यक्तिहरूको अकालमा मृत्यु हुने गरेको बताए । जाडोबाट प्रत्येक वर्ष धनुषा, महोत्तरी, सिरहा सप्तरी लगायत प्रदेश २ मा दर्जनौं व्यक्तिको अकालमा मृत्यु हुने गरेको छ । तातो लुगा, कम्बल आदिको व्यवस्था गर्दा मृत्युलाई रोक्न सकिने उनीहरूले बताए । ‘यस्ता व्यक्तिहरूलाई बचाउन हामी निरन्तर अभियान चलाउने छौं,’ क्लोथ बैंकका अध्यक्ष झाले भने । कति व्यक्तिलाई कम्बल ओढाउँदा आश्चर्यले हेरिहेका थिए ।

छोराबुहारीसँग झगडा भएपछि जानकी मन्दिरको सन्त निवास नजिक बसिरहेका तेतीया देवी भन्ने महिला जाडोले काम्दै थिइन् । ११ बजेदेखि बिहान ८ बजेसम्म मृत्युकै मुखमा हुने गरेको उनले बताइन् । उनले जानकी माताको आर्शिवादले कम्बल बाँड्न मन्त्रीहरूलाई पठाएको उनको भनाइ छ । कतिपय मानसिक अवस्था राम्रो नभएका व्यक्तिहरूले कम्बल पाउनासाथ एक्कासी काखमा च्यापेका थिए । हिउँदभरी आवश्यकताका आधारमा कपडा वितरण अभियान सञ्चालन गरिने क्लोथ बैंकले जनाएको छ ।

Featured