देश

पाँच किलोको ट्युमर शल्यक्रिया गरेर हटाइयो

जलेश्वर, पुस २–महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–३ स्थित खखना माविमा नेपाली सेनाले सञ्चालन गरेको १० दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरअन्तर्गत मंगलबार एक महिलाको पाँच किलोको ट्युमरको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ कि ६२ वर्षीया कोशीदेवीको पाठेघरको शल्यक्रिया गर्दा त्यसभित्र रहेको ४ किलो ९ सय ग्रामको ट्युमर सफलतापूर्वक शल्यक्रिया गरेर हटाइएको नेपाली सेनाको रणभीम गणका गणपति विदुर अधिकारीले जानकारी दिए ।

खखना माविमा बिरामी पहिचान गरी जिल्ला अस्पताल जलेश्वरमा शल्यक्रियाका लागि आएकी ती महिलालाई नेपाली सेनाको आर्मी अस्पताल काठमाडौंबाट आएको सर्जनसहितको चिकित्सक टोलीले सफलतापूर्वक शल्यक्रिया गरी ट्युमर निकालेको हो । नेपाली सेनाको निःशुल्क बृहत् स्वास्थ्य शिविरमा अहिलेसम्म ९५ जनाको शल्यक्रिया गरिसकिएको जनाइएको छ ।

Featured