विदेश

डेमोक्रेटले अमेरिकी प्रजातन्त्रमाथि युद्धको घोषणा गरे : ट्रम्प

एजेन्सी, पुस २–अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूविरुद्धको महाभियोगको प्रक्रियालाई डेमोक्रेटहरुले गरेको ‘कु’ को प्रयास भएको आरोप लगाएका छन् । उनले डेमोक्रेटहरुले अमेरिकी प्रजातन्त्रमाथि युद्धको घोषणा गरेको आरोप समेत उनले लगाएका छन् । डेमोक्रेटिक वरिष्ठ नेता तथा तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीलाई लेखिएको ६ पृष्ठ लामो आक्रोशपूर्ण पत्रमा ट्रम्पले आफूलाई गरिएको व्यवहार १७ औं शताब्दीमा जादुटुना गर्नेलाई गरेजस्तो भएको टिप्पणी गरेका छन् ।

पेलोसीलाई लेखिएको पत्रमा उनले अमेरिकी प्रजातन्त्रमाथि खुल्ला युद्धूको घोषणा गरेको आरोप लगाएका छन्। मंगलबार पठाइएको पत्रमा उनले महाभियोगजस्तो शब्दको महत्त्वलाई सस्तो बनाइएको पनि बताएका हुन् । ट्रम्पमाथि महाअभियोग लगाउने प्रक्रियाअन्तर्गत बुधबार मतदान हुँदैछ । मतदानमा परिणाम केही फरक आउने झिनो आशामा ट्रम्पले महाभियोग प्रक्रियाबारे सदनकी सभामुख पेलोसीलाई ६ पृष्ठ लामो रोषपूर्ण पत्र लेखेका हुन् । यो राष्ट्रपतिले गरेको असाधारण हस्तक्षेप हो ।

शक्तिको दुरुपयोग गरेको र संसदमा बाधा र्पुयाएको भन्ने विशेष आरोपमा राष्ट्रपतिले पहिलो आरोप ‘निराधार हस्तक्षेप’ भएको र दोस्रो ‘खतरनाक र निरर्थक’ भएको बताए। व्यक्तिगत राजनीतिक उपलब्धिका लागि युक्रेनलाई दबाब दिएको आरोपमाथि बुधवार उनले महाभियोगसम्बन्धी मतदानको सामना गर्दैछन् । उनले आफ्नो पत्रमा महाभियोग प्रकरणको सुरुदेखि नै उचित संवैधानिक प्रक्रियाबाट आफू विमुख भएको र प्रमाण प्रस्तुत गर्न पाउने संवैधानिक अधिकार पनि नदिइएको उल्लेख गरेका छन् ।

राष्ट्रपति ट्रम्पलाई सदनको न्यायिक समितिका अध्यक्षले महाभियोग प्रक्रियामा आफ्ना प्रमाणहरू पेश गर्न सार्वजनिक रुपमा बोलाएका थिए। तर उनी सहभागी भएनन् ।ट्रम्प सो प्रक्रियामा सहभागी भएका भए आफ्ना कानूनी समूहले साक्षीसँग प्रश्न गर्न पाउने अनुमति पनि पाउँथे । र ट्रम्पले त्यसलाई अस्वीकार गरे । ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको र संसदमा बाधा र्पुयाएको दुईवटा आरोप छन् । बुधबार तल्लो सदनले महाअभियोगको पक्षमा मतदान गरेमा ट्रम्प अमेरिकी इतिहासमा महाभियोगको सामना गर्ने तेस्रो राष्ट्रपति हुनेछन् । तल्लो सदनबाट पारित भएमा सो महाअभियोग प्रस्तावमाथि माथिल्लो सदन सिनेटमा छलफल हुनेछ । जहाँ रिपब्लिकन र डेमोक्रेट दुवैले स्वतन्त्र सुनुवाई गर्नेछन् ।

Featured