देश

छोरी सुरक्षा कार्यक्रम सुरु

कालीकोट, पुस २–छोरीको भ्रूण हत्या गर्ने, आमालाई हिंसामा पार्ने तथा छोरी भएर जन्मेकोमा आत्मग्लानि गर्ने संस्कृति अन्त्य गराउन छोरी सुरक्षा कार्यक्रम सुरु गरिएको छ । यसबाट समाजमा छोराछोरी बराबरी हुन् भन्ने सन्देश प्रवाह हुने सरकारी अधिकारीहरूले बताएका छन् । कालीकोटमा मंगलबार आयोजित कार्यक्रममा छोरी सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको घोषणा गरिएको हो । त्यस अवसमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले महिला हिंसा र जातीय विभेदको प्रमुख कारण आर्थिक विपन्नता भएको बताए । ‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको’ भन्ने पक्षलाई सफल बनाइने उल्लेख गर्दै मुख्यमन्त्री शाहीले महिला आर्थिक रूपमा कमजोर भएकै कारणले अन्यायमा पर्ने गरेको बताए।

खाँडाचक्र नगरपालिका–२ मान्म कालीकोट निवासी दर्शना दमाईका चारमहिने छोरी जानकी परियार र सोही नगरपालिका–१ का रतना सुनारका दुईमहिने छोरी जमुना सुनारलाई बैङ्क खाता खोल्न एक हजार रुपियाँको चेक दिएर उनले कार्यक्रम शुभारम्भ गरे । मुख्यमन्त्री शाहीले कर्णालीका छोरीको सामाजिक न्यायका लागि सरकारले यो विशेष कार्यक्रम ल्याएको बताए । उनले कालीकोट मुलुकको सबैभन्दा गरिब जिल्ला हो । यही गरिब जिल्लाकी भाग्यमानी छोरी जानकी र जमुनाबाट यहाँ छोरीको उज्ज्वल भविष्य निर्माणका लागि छोरी सुरक्षा कार्यक्रमको आरम्भ गरेको बताए ।

विकासका साथै गरिबी अन्त्यका निम्ति प्रदेश सरकार निरन्तर अघि बढेको बताउँदै मुख्यमन्त्री शाहीले छोरी सुरक्षा कार्यक्रमले लैङ्गिक हिंसा अन्त्य हुने दाबी गरे । महिला तथा दलितलक्षित परीक्षण परियोजना पनि सरकारले अगाडि बढाएको छ । प्रदेश सरकार फुटकर नभई दीर्घकालीन रूपमा प्रभाव पार्ने ठोस योजना निर्माणतर्फ केन्द्रित छ । सरकारले यस प्रदेशका ७९ स्थानीय तहमा एक÷एक नमुना विद्यालय निर्माणका साथै अब प्रदेशका १७ लाख ७० हजार नागरिकको विपद् जोखिम बीमा कार्यक्रम शुभारम्म गरिएको उनले बताए ।

सामाजिक विकासमन्त्री दल रावलले मानव पुँजी विकासमा प्रदेश सरकार निरन्तर लागेको बताए । उनले चालू आर्थिक वर्षको साउन १ गतेदेखि जन्मेका छोरीका निम्ति पहिलो किस्ताबापत तीन करोड ८४ लाख रुपियाँ प्रदेशले स्थानीय सरकारलाई हस्तान्तरण गरिसकिएको बताउँदै एक घरको दुई बालिकालाई खाता खोल्न एक हजार र प्रतिमहिना पाँच सय रुपियाँका दरले २० वर्षसम्म सरकारले बचत गरिदिने जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।

Featured