देश

१६ करोड लागतमा हिलेखोला–कार्कीनेटा सडक कालोपत्रे हुँदै

पोखरा, पुस १–करिब चार दशक अघि निर्माण थालिएको नाउडाँडा–कार्कीनेटा सडकखण्ड अन्तर्गत पर्ने हिलेखोला–कार्कीनेटा सडकखण्डको कालोपत्रे गरिने भएको छ । कूल १६ करोड ६ लाख ४३ हजार ९ सय ९० रुपैयाँ लागतमा ५.३ किलोमिटर सडक सडकखण्ड कालोपत्रे गरिन लागेको हो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले मंगलबार एक कार्यक्रमबीच सडकखण्ड कालोपत्रेको शिलान्यास गरे । शिलान्यासपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले सडकको गुणस्तरीयता र दीगोपनाको लागि स्थानीय उपभोक्ताको महत्वपूर्ण भूमिका रहने बताए ।

उनले स्थानीयलाई आफ्नो गाउँठाउँमा भएका पूर्वाधार निर्माणको गुणस्तरियतामा निगरानी गर्न र निर्माण कम्पनीलाई सहयोग गर्न पनि आग्रह गरे । वर्तमान सरकार आफ्नो कार्यवधिभित्र मुलुकको सबै विकासका पूर्वाधारलाई अघि बढाउने क्रममा रहेको बताउँदै मन्त्री बस्नेतले आर्थिक समृद्धिको एजेण्डालाई निष्कर्षमा र्पुयाउन सबै नागरिकको दायित्व र जिम्मेवारी रहेको पनि बताए । फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले हिलेखोला–कार्कीनेटा–खलडाँडा सडकको कालोपत्रेसँगै फलेबास नगरपालिकाको विकास र समृद्धिको अभियानमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

नगरप्रमुख शर्माले कुनैपनि काम निर्धा्रित समयमै सम्पन्न हुन स्थानीय जनताको समेत सहयोग आवश्यक रहेको भन्दै सडकको गुणस्तर र छिटोछरितो कामको लागि निर्माण कम्पनीलाई सहयोग गर्न आग्रह गरे । फलेबास नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा पूर्वाधार विकास कार्यालयका प्रमुख दयाराम अधिकारीले सडकको कुल लागत इस्टिमेटको बारेमा प्रकाश पार्दै निर्धा्रित समयमै सडकको काम सम्पन्न गर्नका लागि निर्माण कम्पनीलाई निर्वाध रुपमा काम गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा कुरामा पनि जोड दिए ।

कार्यक्रममा कुश्मा नगरपालिकाको तर्फबाट वडा नं १४ का वडाअध्यक्ष भीमबहादुर गुरुङले सडकको काम समयमा सम्पन्न गर्न स्थानीयको समेत सहयोग आवश्यकता रहेको बताए । नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी गण्डकी प्रदेशका संयोजक शिब शर्मा अधिकारी, नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य देवीप्रसाद विलासी र फलेबास नगरपालिकाका प्रवक्ता टीकाराम गौडेललगायतले कालोपत्रेको काम समयमा नै समपन्न गर्नुपर्नेमा जोड दिए ।

फलेबास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन फलेबास नगरपालिकाका योजना सल्लाहकार देवीप्रसाद तिमिल्सिनाले र स्वागत मन्तव्य वडा नं १ का वडाअध्यक्ष बाबुराम शर्माले व्यक्त गरे । सडक आगामी २८ मंसिर २०७७ सम्ममा कालोपत्रे गरिसक्ने गरी हिमदुङ एण्ड थोकर कम्पनी प्रालि, काठमाडौंलाई जिम्मा दिइएको छ ।

Featured