खेलकुद देश

१३ औँ सागमा स्वर्ण जित्ने बक्सिङ खेलाडी पुरस्कृत

काठमाडौं, पुस १–१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता खेलाडी मंगलबार पुरस्कृत भएका छन् । बक्सिङतर्फ नेपाललाई स्वर्ण जिताउने सनिल शाही (पुरुष ६० केजी), भुपेन्द्र थापा (पुरुष ६४ केजी) तथा मिनु गुरुङ (महिला ५४ केजी) ले स्वर्ण जितेका थिए । स्वर्ण विजेता खेलाडीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले तथा नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष विष्णुगोपाल श्रेष्ठले व्यक्तिगत नगद पुरस्कार प्रदान गरे । अवालेले जनही १ लाख ५० हजार तथा श्रेष्ठले जनही ५० हजार नगद पुरस्कार प्रदान गरेका छन् ।

सातदोबाटोमा डिसेम्बर ६ देखि १० तारिखसम्म भएको बक्सिङमा पुष्करराज पन्त, रामचन्द्र थापा मगर, ताराराम श्रेष्ठ र धनकुमार मैनालीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । सोही अवसरमा चीनको जिङयाङमा हुने एसियाली ग्रान्ड स्लाम बक्सिङ प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई पनि विदाइ गरिएको छ । २० र २१ डिसेम्बरमा हुने प्रतियोगिताको पुरुष ६४ केजीमा भुपेन्द्र थापा तथा महिला ५४ केजीमा मिनु गुरुङले नेपालको प्रतिनिधित्व गर्दै छन् । प्रशिक्षकमा रमेश श्रेष्ठ र सुवर्ण सापकोटा तथा व्यवस्थापकमा शोभाजंग केसी रहेका छन् । टोली बुधबार चीन प्रस्थान गर्ने छ ।

Featured