देश

बन्धक बनाएर देहव्यापार

चितवन, पुस १–भरतपुर महानगरपालिकाभित्रै बन्धक बनाएर एक युवती र एक किशोरीलाई देहव्यापारमा संलग्न गराएको खुलेको छ । जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलनमार्फत देहव्यापारमा लगाउनेलाई सार्वजनिक गरेको छ । फिल्मी शैलीमा होटलमा लुकाएर उनीहरूलाई देहव्यापारमा लगाएको पाइएको छ ।

वडा नं २९ मा रहेको होटल खोटाङ हलेसी एण्ड सगरमाथा गेष्टहाउसका सञ्चालकले काठमाडौंबाट हराएका एक युवती र एक किशोरीलाई देहव्यापारमा लगाएको प्रहरीले जनाएको छ । गत कात्तिक २७ गते काठमाडौंबाट हराएका एक युवती र किशोरीलाई त्यहाँ ल्याएर देहव्यापारमा लगाइएको हो । काठमाडौंमा कोठा भाडा गरी बस्ने २२ वर्षीया युवती र १४ वर्षीया किशोरीलाई काठमाडौंबाट चितवनसम्म ल्याउने काम धरानकी युवतीले गरेको खुलेको छ ।

ती दुईलाई एउटा बन्द कोठामा राखेर देहव्यापार गराइएको थियो । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार उनीहरूले घरमा सन्देश पठाएपछि प्रहरीले सो होटलमा छापा मारेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पटक–पटक होटलमा खानतलासी गर्दासमेत उनीहरूलाई फेला पार्न सकिएको थिएन । प्रहरीको निगरानीपछि उनीहरूलाई मुग्लिनतर्फ लैजाने क्रममा पक्राउ गरिएको मल्लले जानकारी दिए । उनीहरूले पक्राउपछि सोही होटलमा देहव्यापारमा लगाएको जनाएका थिए । त्यसपछि उनीहरूसहित प्रहरी होटल पुगेर हेर्दा अन्धकार कोठामा राखेर देहव्यापारमा लगाइएको पाइएको मल्लले बताए ।

प्रहरीले होटलका सञ्चालक ५० वर्षीय जंगबहादुर क्षत्री, उनकी श्रीमती ३९ वर्षीया निर्मला थापा र धरान उपमहानगरपालिकाकी २४ वर्षीया रेसिका राईलाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा अनुसन्धानका लागि सरकारी वकिलको कार्यालयमार्फत पाँच दिनको समय थप गरी अनुसन्धान सुरु गरिएको छ । रासस

Featured