देश

हसुलियामा थारू सांस्कृतिक प्रदर्शनी र पेनाल्टी सुटआउट हुने

धनगढी, पुस १–थारु समुदायको नयाँ वर्ष माघीको अवसरमा कैलालीको हसुलियामा दोस्रो थारू सांस्कृतिक प्रदर्शनी हुने भएको छ । मंगलवार धनगढीमा पत्रकार सम्मेलन गर्दै हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालयमा माघ २ र ३ गते थारु सांस्कृतिक प्रदर्शनी तथा पेनाल्टी सुटआउट हुने जनाइएको छ ।

माघी पर्वको अवसरमा कैलारी गाउँपालिकाको सहकार्यमा मल्टी युथ क्लब धनगढी र हिमशिखर क्लब हसुलियाले दोस्रो पटक दुई दिने थारू सांस्कृतिक प्रदर्शनी गर्न लागेको हो । पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक पञ्चराम चौधरीले ३३ लाख ८४ हजार ३ सयको लागतमा कार्यक्रम आयोजना गरिन लागेको बताए । सांस्कृतिक प्रदर्शनीसँगै फुटबल पेनाल्टी सुट आउटको कार्यक्रम समेत गरिने उनको भनाइ छ ।

कार्यक्रममा परम्परागत र आधुनिक झुमरा, सखिया नाच, बड्का नाच, मुंग्रहुवा नाच, लठ्ठहुवा नाच, धमार, मघौटा, राना थारु र कठरिया थारू होरी नाच लगायतका सांस्कृतिक कार्यक्रम रहने उनले जानकारी दिए । कार्यक्रममा ५० वटा सांस्कृतिक टोलीको सहभागिता रहनेछ । यसैगरी, पेनाल्टी सुटआउट टोलीअन्तर्गत ३५ वर्षभन्दा माथि उमेर (भेट्रान) समूह ६४, ३५ वर्ष भन्दा मुनि उमेर समूह ६४, र महिला समूह ३२ वटा टिम रहने जनाएको छ । फुटबल पेनाल्टी सुट आउटमा ३५ वर्ष भन्दा माथि उमेर (भेट्रान) समूहमा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ, उपविजेता टिमलाई ५५ हजार ५ सय ११ रुपैयाँ, उत्कृष्ट गोल रक्षक र सर्वा्धिक गोल कर्तालाई ५र५ हजार नगद पुरस्कार प्रदान गर्ने गरिनेछ ।

यस्तै, ३५ वर्ष भन्दामुनि पेनाल्टी सुट आउटमा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ, उपविजेता टिमलाई ५१ हजार १ सय ११ रुपैयाँ, उत्कृष्ट गोल रक्षक र सर्वा्धिक गोल कर्तालाई ५र५ हजार पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । महिला समूहअन्तर्गत पेनाल्टी सुटआउटमा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद ५१ हजार, उपविजेता टिमलाई २५ हजार ५ सय रुपैयाँ, उत्कृष्ट गोल रक्षक र सर्वा्धिक गोल कर्तालाई २ हजार ५ सय पुरस्कार प्रदान गरिनेछ । कार्यक्रमअन्तर्गत १५ हजार मिटर खुल्ला दौड प्रतियोगिता पनि राखिने आयोजकले जनाएको छ ।

Featured