देश शिक्षा

बेलायतमा पढ्न इस्लिङ्टन कलेजका तीन विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौं, पुस १–कमलपोखरी इस्लिङ्टन कलेजले स्नातक तहमा उत्कृष्ट छनोट भएका तीन विद्यार्थीलाई लण्डन मेट्रोपोलिटन विश्वविद्यालयमा सूचना प्रविधिको स्नातकोत्तर तह अध्ययन गर्ने गरी पूर्ण छात्रवृत्ति घोषणा गरेको छ । कलेजको दीक्षान्त समारोहमा कलेज र आईएनजी ग्रुपका अध्यक्ष शुलभ बुढाथोकीले छात्रवृत्ति घोषणा गरेका हुन् । छात्रवृत्ति पाउने विद्यार्थीहरूमा त्रिजन मानन्धर, सविन नकर्मी र अरुण आचार्य रहेका छन् । उनीहरूले विश्वविद्यालयमा थप अध्ययन गर्न छात्रवृत्ति पाएका हुन् । अध्यक्ष बुढाथोेकीले विश्वविद्यालयमा खान, बस्न, हवाई टिकट र अध्ययनका लागि तीन जनालाई पूर्ण छात्रवृत्ति उपलब्ध गराएको जानकारी दिए ।

सो विश्वविद्यालयमा सूचना प्रविधि र व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनका लागि सम्पूर्ण खर्च विश्वविद्यालयले बेहोर्ने भएको छ । छनोटमा परेका विद्यार्थीलाई पूर्ण अध्ययनका लागि सो कलेजले ३३ हजार पाउण्डको छात्रवृत्ति प्रदान गर्नेछ,’ कलेजका अध्यक्ष बुढोथोकीले भने, ‘इस्लिङ्टन कलेजमा अध्ययन गर्ने विद्यार्थीको सूचना, प्रविधिको पढाइ उत्कृष्ट रहेकाले थप अध्ययन गर्न छात्रवृत्ति दिएका हौं ।’

अध्ययन पूरा गरेपछि नेपालमै फर्केर रोजगारी सिर्जना हुने काममा लाग्ने उनले बताए । त्यसैगरी, सोही कलेजमा अध्ययनरत दुई विद्यार्थीलाई कलेजमै अध्ययन गर्न छात्रवृत्ति दिएको छ । छात्रवृत्ति पाउनेमा रसिला श्रेष्ठ र कोमल निरौला रहेका छन् । उनीहरूलाई स्नातकोत्तर तह अध्ययन गर्न छात्रवृत्ति दिएको कलेजले जनाएको छ । यसैबीच, कलेजमा स्नातक तह पूरा गरेका गरेका ४ सय ४५ विद्यार्थी दीक्षित भएका छन् । काठमाडौंमा आयोजित समारोहमा लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका भाइस चान्सलर लिन प्राध्यापक डब्सले दीक्षित विद्यार्थीलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए । आईएनजी ग्रुपका अध्यक्ष बुढाथोकीले अन्तर्रा्ष्ट्रिय स्तरको शिक्षा दिन सफल विद्यार्थीले सोही स्तरको प्रगति हासिल गरेको बताए । नेपालमा हासिल गरेको शिक्षा नेपालमै प्रयोग गर्न विद्यार्थीलाई आग्रह गरे ।

Featured