देश

बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको

सुर्खेत, पुस १–कर्णाली सरकारले ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम कालिकोटबाट सुरु गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकास मन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कालिकोटबाट लागू भएको घोषणा गरे । मंगलबार कालिकोट खाँडाचक्र नगरपालिका– १ की डेढ महिनाकी जमुना सुनार र सोही नगरपालिका– २ की साढे ३ महिनाकी जानकी परियारको नाममा राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेर सो कार्यक्रमको शुभारम्भ गरिएको हो ।

आर्थिक वर्ष २०७६र७७ को नीति तथा कार्यक्रम र बजेटमा कर्णाली प्रदेशभित्र जन्मिएका छोरीको बैंक खाता खोल्ने कार्यक्रम ल्याएको थियो । कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमअनुसार प्रदेश संसदले कार्य्विधि स्वीकृत गरेसँगै कार्यान्वयन ल्याउन लागेको हो । पारित गरेको कार्य्विधिअनुसार १ साउन २०७६ यता जन्मिएका छोरीलाई प्रदेश सरकारले बैंकमा पैसा जम्मा गर्नेछ । कार्यक्रम कालिकोटबाट सुरु भएर प्रदेशभर लागू गरिने प्रदेश सरकारले जनाएको छ ।

रकम २० वर्ष पुगेपछि मात्र झिक्न पाइने
प्रदेश सरकारले छोरीको खातामा २० वर्षसम्म पैसा दिनेछ । तर, त्यो रकम २० वर्ष पुगेपछि मात्र झिक्न पाइनेछ । बालविवाह र महिलामाथि हुने विभेद हटाउनका लागि यो खाता संचालन गरिएकाले २० वर्ष पुगेपछि मात्र पैसा झिक्ने गरी कार्य्विधि तयार पारिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कसरी खोल्न सकिन्छ खाता ?
कार्य्विधिअनुसार छोरी जन्मिएपछि अभिभावकले स्थानीय तहमा निवेदन दिनेछन् । निवेदनका आधारमा स्थानीय तहले प्राप्त निवेदन, कागजातको जाँचबुझका आधारमा आवश्यक प्रक्रिया पुगेको भए खाता खोल्न अभिभावकसहित कर्णाली प्रदेशअन्तर्गत स्थानीय तहमा रहेका बैंकका शाखा कार्यालयमा खाता खोल्न सिफारिस गर्नेछ ।

महिनामा ५ सय जम्मा हुने
कार्य्विधिअनुसार ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ खातामा प्रदेश सरकारले पहिलो चरणमा एकमुष्ट १ हजार रुपैयाँ जम्मा गर्नेछ । त्यसपछि हरेक महिना ५ सय रुपैयाँका दरले सरकारले बैंक खातामा जम्मा गरिदिने सामाजिक मन्त्रालयका सचिव डा. मान बहादुर बिकले बताए । ‘पहिलो चरणको बाहेक अन्य महिनाको सम्बन्धित स्थानीय तहमा पठाएमा रकम पठाइनेछ,’ उनले भने, ‘स्थानीय तहले खातावालको बैंक खातामा रुपैयाँ जम्मा गरिदिनेछन् ।’

Featured