विदेश

बोइङले ७३७ म्याक्स विमान निर्माण अस्थायी रुपमा बन्द गर्ने

एजेन्सी, पुस १–अमेरिकी विमान निर्माता कम्पनी बोइङले ७३७ म्याक्स संस्करणको विमानको निर्माण कार्य अस्थायी रुपमा बन्द गर्ने निर्णय गरेको छ । बोइङले आगामी जनवरीबाट अस्थायी रुपमा ७३७ म्याक्स विमानको निर्माण बन्द गर्ने जनाएको हो । दुई ठूला दुर्घटनामा ३ सय जना भन्दा बढीको मृत्यु भएपछि विश्वभर बोइङ ७३७ म्याक्स संस्करणका विमान उडाउन प्रतिबन्ध लगाइएको छ । सो प्रतिबन्धका कारण ९ महिनादेखि यी विमानहरु ग्राउण्डेड भएका छन् । तर बोइङले सो संस्करणका विमानको उत्पादन भने रोकेको थिएन । इन्डोनेसिया र इथियोपियामा ७३७ म्याक्स विमान दुर्घटना हुँदा ३ सय जना भन्दा बढीको मृत्यु भएको हो ।

दुवै दुर्घटना समान खालको समस्याका कारण दुर्घटनामा परेको र ७३७ म्याक्सका केही फिचरमा समस्या देखिएको अध्ययनबाट खुलेको थियो । तर बोइङले ७३७ म्याक्स विमानमा देखिएको समस्या समाधान गरेको बताएको छ । आगामी वर्षको अन्त्यसम्म पुनः ७३७ म्याक्स विमानमार्फत विश्वव्यापी रुपमा उडान हुने अपेक्षा गरेको बोइङले जनाएको छ। अमेरिकी नियामक निकायले भने सो संस्करणको विमानलाई चाँडै नै उडानका लागि स्वीकृति प्रदान नगरिने स्पष्ट पारेको छ । अमेरिकाको वासिंगटन, सियाटलमा रहेको बोइङ अमेरिकाको ठूलो विमान निर्माता कम्पनी मध्ये एक हो ।

Featured