देश

‘पैसा नलिई कामै हुन्न’

काठमाडौं, पुस १–भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार। सोमबार साढे १० बजे पुग्दा कार्यालयको ढोकाछेउ मानिसहरू झुम्म थिए । कोही मोबाइल खेलाइरहेका थिए त कोही गफ गरिरहेका । कार्यालयको मूलढोकाअगाडि उभिएका उनीहरू कर्मचारी होइन रहेछन्, जग्गाको काम लिएर आएका सर्वसाधारण पनि होइन रहेछन्। उनीहरू त लेखापढी व्यवसायी पो रहेछन् ।

लिफ्ट छ, तर चल्दैन
मालपोत भवनमा लिफ्ट त छ, तर चल्दैन। भवन सात तलाको छ। भुइँतलादेखि छैटौं तलासम्म विभिन्न शाखा छन्। बिरामी, अशक्तलाई काम गर्न जान साह्रै अप्ठ्यारो छ। हिँडेरै तलमाथि गर्नुपर्छ। शारीरिक रुपमा फरक क्षमता भएका, अशक्त, वृद्धवृद्धालाई त त्यतिकै समस्या छ। दमकी बिरामी महिला गुनासोसहित स्याँस्याँ गर्दै र्भयाङ चढिरहेकी थिइन्। ‘दम छ, माथि उक्लिन गाह्रो भयो,’ उनले भनिन्। उनलाई छोरीले घरिघरि हात समातेर माथि लगिरहेकी थिइन्।

करोडौं खर्च गरेर राखेको लिफ्टको हरिबिजोक छ। लिफ्ट राखेदेखि नै नचलेको एक कर्मचारी बताउँछन्। ‘मैले सुनेको यो लिफ्ट बनाएदेखि नै चलेको छैन रे,’ उनले भने, ‘सुरुमै इरर थियो रे।’ सूचना अधिकारीसमेत रहेका मालपोत अधिकृत प्रभुनाथ राई भूकम्पपछि लिफ्ट नचलेको भन्ने आफूले सुनेको बताए। उनले भूकम्पका कारण पाँच वर्ष भाडामा १ वर्षअघिमात्र यहाँ सरेको जानकारी दिए। ‘भूकम्पपछि नचलेको भन्ने सुनेको हुँ,’ उनले भने, ‘मर्मत गर्नुपर्छ भन्ने महसुस भएको छ।’ उनले लिफ्ट नहुँदा सेवाग्राहीले मात्र होइन आफूहरूले समेत दुःख पाइरहेको बताए। भवन बनाउने ठेकेदारलाई मर्मत गर्न लगाउने भनेर मर्मतसम्भारमा ढिलाइ भइरहेको छ। सूचना अधिकारी राईले पुरानो ठेकेदारलाई पर्खिएर नहुने नयाँ ल्याएर मर्मत गर्नुको विकल्प नभएको बताए।

छैन पार्किङ
डिल्लीबजारस्थित मालपोत कार्यालय परिसरमा पार्किङ छैन। कार्यालय पस्ने ठाउँमै मोटरसाइकल पार्किङ गर्दा मालपोतभित्र जानसमेत असजिलो हुने गरेको छ। मालपोतको भवन भव्य छ तर पार्किङको व्यवस्था छैन। गल्लीमा सवारीसाधन राख्नुपर्ने स्थिति छ। मालपोत जाने बाटोको उत्तरतिर चारखाल अड्डाको अब ढल्छ, तब ढल्छ जस्तो जोखिमपूर्ण पर्खाल छ। जुनसुकै बेला भत्किन सक्ने पर्खालको छेउबाटै सेवाग्राहीले मालपोत जानु पर्छ। त्यो डरमर्दो पर्खाल ढलेर कुनै पनि बेला कसैलाई भुतुक्क नपार्ला भन्न सकिन्न।

रोकिएन आर्थिक चलखेल
मालपोत कार्यालयमा आर्थिक चलखेल रोकिएको छैन। ‘पैसा नखुवाइ त यहाँ कामै हुँदैन,’ एक सेवाग्राहीले भने, ‘यहाँ काम गराउन साह्रै गाह्रो छ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोतका कर्मचारीलाई दर्जनौं पटक घुससहित पक्राउ गरेको छ। धेरैलाई भ्रष्टाचारको आरोपमा मुद्दा पनि दायर भएको छ। तर मालपोतका कर्मचारीले घुस खान, भ्रष्टाचार गर्न नछाडेको सेवाग्राही दुखेसो पोख्छन्। जग्गा रजिस्ट्रेसन पास गर्न आएका एक सेवाग्राहीले भने, ‘के गर्नुृ हुन्छ, तपाईंहरू जतिपल्ट आउनुहोस्, अख्तियारले जतिसुकै समातोस्, यहाँ घुस खान छाड्दैनन, के गर्नु हुन्छ।’ उनले आफूले पैसा खुवाएरै काम गराइरहेको बताए। यो समाचार आजको अन्नपूर्ण पोष्टले छापेको छ ।

Featured