देश

बालबालिका र वृद्धवृद्धा चिसोको जोखिममा

काठमाडौं, पुस १–उपत्यकामा हिउँदे पानी परेसँगै अत्यधिक चिसो बढेकोे छ । चिसो बढेसँगै यसबाट प्रत्यक्ष असर बालबालिका र ज्येष्ठ नागरिकलाई पर्ने हुनाले सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । ज्येष्ठ नागरिक तथा बालबालिकाहरू जाडो मौसममा बढी पीडित हुने भएकाले उनीहरूलाई जाडोबाट बचाउन चिकित्सकले सुझाव दिएका हुन् । अत्यधिक चिसोले ज्येष्ठ नागरिक र बालबालिकामा निमोनिया, दम, श्वासप्रश्वास, हृदयाघात, ब्रोनकाइटिस, रक्तचाप, हाइपोथर्मिया लगायतका रोग लाग्ने भएकाले उनीहरूलाई चिसो मौसममा जोगाउनुपर्ने चिकित्सकको भनाइ छ ।

वरिष्ठ बालरोग विशेषज्ञ डा.ज्योतिरत्न धाख्वाले पहिलेजस्तै गरी बालबालिकालाई चिसो मौसममा छाड्न नहुने बताए । उनले अत्यधिक चिसोले गर्दा बालबालिकालाई निमोनिया, श्वासप्रश्वास, हाइपोथर्मिया लगायतका रोगले आक्रमण गर्ने हुनाले सतर्क रहन आग्रह गरे । बालरोग विशेषज्ञ डा. धाख्वाले बालबालिकालाई बाक्ला कपडा लगाइदिनुपर्ने बताए । उनले उपत्यकामा भन्दा तराईमा जाडोसँगै शीतलहरसमेत पर्ने भन्दै तराईमा बसोबास गर्नेले जाडो तथा शीतलहरबाट बच्न विभिन्न उपाय अपनाउनुपर्ने बताए ।

डा.धाख्वाले जाडो मौसमसँगै सामान्य मानिसलाई समेत विभिन्न रोगले सताउने भएकाले मानिसमा तापक्रममा आएको कमीले रोग प्रतिरक्षा क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिकालाई बढी असर गर्ने बताए । उनले बढी चिसोका कारण हाइपोथर्मिया भएर मानिसको मृत्यु हुनसक्ने भन्दै जाडो मौसमका रोगबाट बच्न बाक्लो कपडा लगाउनुका साथै न्यानो ठाउँमा बस्ने, हिटर ताप्ने, आगो ताप्ने गर्नुपर्ने बताए । वरिष्ठ स्त्रीरोग विशेषज्ञ तथा परोपकार स्त्री तथा प्रसूति अस्पतालका निर्देशक प्राडा जागेश्वर गौतमले सुत्केरी महिला पनि जाडोको उच्च जोखिममा रहेको जानकारी दिए । उनले सुत्केरीसँगै उनीहरूका भर्खर जन्मिएका सन्तान पनि जाडोको जोखिममा रहेकाले सधैँ न्यानोमा राख्न सल्लाह दिए ।

उनले नवजात शिशु तथा आमाहरूको चिसोका कारण हुने हाइपोथर्मियाबाट मृत्युसमेत हुने गरेको जानकारी दिँदै चिसोबाट बच्नुपर्ने बताए । उनले जाडोमा बालबालिकामा दम, निमोनिया, रुघाखोकी, ज्वरो, टन्सिल, डायरिया, भाइरल ज्वरो, पिनास, ब्रोनक्राइटिसलगायतका रोग लाग्ने बताए । भर्खर जन्मेका शिशुमा निमोनिया, ब्रोनक्राइटिसलगायतका समस्या हुने भन्दै उहाँले बालबालिकालाई चिसोमा जथाभावी खेल्न नदिने, न्यानो कपडा लगाइदिनुपर्ने बताए । यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।

Featured