देश

चित्लाङमा नेपालकै पहिलो ‘क्वाड बाइक राइड’ सुरु

काठमाडौं, मंसिर ३०–मकवानपुरको पर्यटकीय स्थल चित्लाङमा नेपालकै पहिलो क्वाड बाइक राइड सुरु भएको छ । चित्लाङस्थित चित्लाङ रिसोर्ट प्रालि र एड्भेन्चर गियर्स प्रालिको सहकार्यमा क्वाड बाइक सुरु भएको हो । क्वाड बाइक विश्वभर धेरै मनपराइने एड्भेन्चर स्पोर्ट्समध्येमा पर्दछ । विशेष रूपमा बनाइएको ट्रयाकमा मात्र चलाउन मिल्ने क्वाड बाइकका लागि चित्लाङ रिसोर्टले ट्रयाक बनाएर केही समयअघि परीक्षण पनि गरेको थियो । परीक्षण सफल भएपछि ३० मंसिरमा क्वाड बाइकको औपचारिक उद्घाटन गरिएको हो ।

थाहा नगरपालिका–९ का वडाध्यक्ष पर्शुराम श्रेष्ठले पहिलो क्वाड बाइकको उद्घाटन गर्दै यसले चित्लाङको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान र्पुयाउने विश्वास व्यक्त गरे । चित्लाङ रिसोर्टका सम्पर्क कार्यालयमा अग्रिम बुकिङ गरेर नेपालकै पहिलो क्वाड बाइक राइड गर्न सकिने रिसोर्टका सञ्चालक सैलेश नेपालले जानकारी दिए । आन्तरिक पर्यटकको रोजाइमा पर्न सफल चित्लाङमा पर्यटक आवागमन अझै बढाउन क्वाड बाइकले महत्त्वपूर्ण योगदान र्पुयाउनेमा स्थानीयवासी पनि विश्वस्त छन् । पछिल्लो समय सप्ताहान्त मनाउन सबै उमेर समूहका व्यक्तिको रोजाइमा चित्लाङ पर्दै आएको छ ।

प्याराग्लाइडिङका लागि पोखरार्, याफ्टिङ र बन्जीका लागि भोटेकोशीले जसरी आफ्नो पहिचान स्थापित गरेका छन्, चित्लाङले पनि क्वाड बाइकका लागि पहिचान बनाउने नेपालले विश्वास व्यक्त गरे । ‘राजधानीबाट एकदमै नजिकै रहेकाले चित्लाङले व्यस्तताबीच छोटोछरितो घुमफिर गर्ने रमणीय स्थानका रूपमा परिचय बनाएको थियो । क्वाड बाइकले चित्लाङको आकर्षण अझ बढाएको छ । एड्भेन्चर स्पोर्ट्स मनपराउने युवा वर्गका लागि चित्लाङ नयाँ गन्तव्य बन्नेछ । जसरी प्याराग्लाइडिङका लागि पोखरा र्र याफ्टिङ वा बन्जीका लागि भोटेकोशी प्रख्यात छन्, अब क्वाड बाइक राइडका लागि चित्लाङले आफ्नो परिचय स्थापित गर्नेछ,’ उनले उत्साहित हुँदै भने ।

चारवटा ठूलाठूला पाङ्ग्रा हुने तर मोटरसाइकलजस्तो देखिने क्वाड बाइक अल–टेरेन भेइकल (एटीभी) अन्तर्गत पर्दछ । विकसित देशमा एटीभी एड्भेन्चर स्पोर्ट्सका रूपमा युवामाझ प्रख्यात रहे पनि नेपालमा भने आइसकेको थिएन । चित्लाङको डाँडामा सामान ढुवानी गर्नका लागि बनाइएको अस्थायी बाटोलाई नै ट्रयाकका रूपमा विकसित गरेर चित्लाङ रिसोर्टले क्वाड बाइक सञ्चालन गरेको हो । अग्रिम बुकिङ गरेर एक घण्टा क्वाड बाइक राइडको अनुभव लिन सकिनेछ । औपचारिक सुरुवातको अवसरमा पहिलो एक महिना क्वाड बाइक राइड गर्दा २५ प्रतिशत छुट प्रदान गरिने रिसोर्टले जानकारी दिएको छ ।

Featured