देश

सिंघिया नदी सफाई माहाअभियान : फोहर नियन्त्रणका लागि ड्रोनबाट निगरानी

विराटनगर, मंसिर ३०–प्रदेश नं. १ को समाजिक विकास मन्त्रालयले सिंघिया नदीको अस्तित्व संरक्षणका लागि स्ुरु गरेको सरसफाई महाअभियान अन्तर्गत अब ड्रोन क्यामेराबाट निगरानी गरिने भएको छ । सामाजिक विकास मन्त्री जिवन घिमिरेको अगुवाईमा सरसफाई महाअभियान सुरु गरिएपनी जथाभावी फोहर गर्ने क्रम नरोकिएपछी अब ड्रोन क्यामेरा मार्फत निगरानी गरिने भएको हो ।

सामाजिक विकास मन्त्रालयमा सरोकारवाला निकाय र विभिन्न संघ संस्थाका प्रतिनिधिबीच सोमबार भएको छलफलमा मन्त्री घिमिरेले नदीको फोहरमैला र प्रदुषण नियन्त्रणका लागि ड्रोन परिचालन गरिने बताएका हुन् । छलफलमा सिंघिया नदीको १० किलोमिटर क्षेत्रभित्र गरिने सरसफाई अभियानलाई प्रभावकारी बनाउन सम्बन्धीत वडालाई जिम्मेवारी दिने समेत निर्णय भएको नेकपा प्रदेश कमिटि सदस्य मृत्युञ्जय कुमार झाले जानकारी दिए । सरसफाई महाअभियान गएको मंसिर २१ गतेदेखी सुरु गरिएको थियो ।

छलफलमा सो अभियानको समिक्षा समेत गरिएको झाले बताए । महाअभियानमा विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान, बुढीगंगा, जहदा गाउँपालिका, परिवर्तनका लागि हातेमालो, कटहरी फाउण्डेसन लगायत दर्जनौँ संघ संस्थाले प्रदेश सरकारलाई साथ दिएका छन् । ‘आगामी पुष ५ गते सिंघिया खोला जाउँ १ घर १ नागरिक सहभागी हौँ’ भन्ने नाराका साथ सरसफाईमा जुट्न मन्त्री घिमिरेले आग्रह गरेका छन् ।

Featured