देश

३८ वर्षपछि चोरीका अभियुक्त पक्राउ

काठमाडौं, मंसिर ३०–३८ वर्षदेखि फरार रहेका ठग दास बातर थारुलाई प्रहरीले पक्राउ गरेको छ । बाराको करैयामाई गाउँपालिका–५ बस्ने थारुलाई लुकीछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय सिहोर्वा, बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । थारुलाई बारा जिल्ला अदालतले २५ जेठ, २०३८ मा चोरीको मुद्दामा दोषी ठहर गरि १४ हजार जरिवानासहित र २ महिना कैदको सजाय सुनाएको थियो । पक्राउपछि थारुलाई अदालतमा पेश गरिएको थियो । अदालतले कैद भुक्तानका लागि उनलाई जिल्ला कारागार, विरगञ्ज पठाएको छ ।

५ वर्षदेखि फरार चौधरी पनि पक्राउ
इलाका प्रहरी कार्यालय सिहोर्वाबाटै खटिएको टोलीले ५ वर्षदेखि फरार जगदीश चौधरीलाई पनि पक्राउ गरेको छ । बाराको कोल्हवी नगरपालिका–८ का स्थायी बासिन्दा रहेका चौधरीलाई २७ मंसिरमा लुकेकै अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । चौधरीलाई वन पैदावार हानीनोक्सानी मुद्दामा तत्कालिन पुनरावेदन अदालत हेटौंडाले १२ माघ, २०७१ मा १ वर्ष कैदसहित ४५ हजार ६६ रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । उनलाई पनि बारा जिल्ला अदालतले कैद तथा जरिवाना वापतको कैद भुक्तानीका लागि विरगञ्ज कारागार पठाएको छ ।

Featured