देश राजनीति

सिटौलाको आग्रहपछि कांग्रेस बैठक स्थगित

काठमाडौं, मंसिर ३०–नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा नेता रामचन्द्र पौडेललगायतका केन्द्रीय सदस्यहरूले बहिष्कार गर्दै आएपछि नेता कृष्णप्रसाद सिटौलाको आग्रहमा बैठक स्थगित भएको छ । असन्तुष्ट नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायतका केन्द्रीय सदस्यहरूले बिहीबार, आइतबार र आजको केन्द्रीय कार्यसमिति बैठकसमेत बहिष्कार गरेपछि पूर्वमहामन्त्री सिटौलाको आग्रहमा बैठक २ पुससम्मका लागि स्थगित भएको हो । नेता पौडेल र उनी पक्षधर असन्तुष्ट नेताहरूले पार्टीको १४औं महाधिवेशनको कार्यतालिका बैठकको एजेण्डामा नसमेटेको भन्दै बहिष्कार गर्दै आएका छन् । बिहीबार सुरु कार्यसमिति बैठकमा महामन्त्री कोइराला र अर्का महामन्त्री पूर्णबहादुर खड्कासमेत अनुपस्थित भएका थिए ।

बिहीबार पेश भएका नौवटा एजेण्डामध्ये विभागको संख्या २८ बाट बढाएर ४० र्पुयाउने संस्थापन पक्षको प्रस्तावप्रति पनि पौडेल पक्षले असहमति जनाएको छ । असन्तुष्ट नेता पौडेललाई मनाउन सभापति शेरबहादुर देउवा पौडेल निवास बोहोराटार नै गएका थिए । उपसभापति निधिले पौडेल पक्षधर नेता पूर्वमहामन्त्री प्रकाशमान सिंह, दिलेन्द्रप्रसाद बडू र हृदयराम थानी संलग्न टोलीसँग वार्तासमेत गरेका थिए । तर, पौडेल पक्षधर नेताहरूले महाधिवेशनको कार्यतालिका प्रस्तुत नगरेसम्म बैठकमा उपस्थित नहुने अडान लिएपछि आइतबार र सोमबारको बैठकसमेत उनीहरूले बहिष्कार गरेका थिए ।

पार्टी केन्द्रीय कार्यसमिति बैठक लगातार बहिष्कार गर्ने संस्थापनइतर पक्ष र बहुमतका आधारमा जे पनि निर्णय गर्न खोज्ने संस्थापन पक्ष दुवैको भूमिका अतिवादी भएको टिप्पणी गर्दै आएका नेता सिटौला सोमबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गएका थिए । सिटौलाले पार्टीको आन्तरिक विषयमा विवाद बल्झाउनुभन्दा समाधान गर्नु उपयुक्त हुने भन्दै वार्ता र संवादबाटै समाधान खोज्न आफूले केही दिन औपचारिक बैठक गरेर नजान आग्रह गरेको बताए ।

‘सिटौलाजीले नै असन्तुष्ट सबै साथीहरूको संलग्नता र सहभागितामा निर्णय गर्दै जाँदा मात्र पार्टीको हित हुन्छ । असन्तुष्ट साथीसँग वार्ता गरी सहमति खोज्नका लागि दुई दिन बैठक स्थगित गर्न आग्रह गर्नुभयो, उहाँकै विश्वास र आग्रहमा सभापतिले बैठक स्थगित गर्नुभयो’, बैठकपछि केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेले भने । सोमबार १ बजे बोलाइएको बैठकमा पौडेल पक्षधर नेताहरू कोही पनि नगएपछि अपराह्न ४ बजे बैठक सुरु भएको थियो । त्यसअघि उपसभापति निधिले पौडेल पक्षधर नेता प्रकाशमान सिंह, बडू र थानी संलग्न समितिसँग वार्ता गरेका थिए ।

पार्टीमा तेस्रो धारको नेतृत्व गर्दै आएका सिटौला पक्षधर केन्द्रीय सदस्यहरू गगन थापा र प्रदीप पौडेलले बैठक बहिष्कार गर्दै आएका छन् भने उमाकान्त चौधरी र शिवप्रसाद हुमागाईं बैठकमा भाग लिँदै आएका छन् । पार्टी केन्द्र्रीय कार्यसमितिको बिहीबारको बैठकमा संस्थापनइतर पक्षधर महेश आचार्य उपस्थित भएका थिए भने आइतबार नरहरि आचार्य उपस्थित भएका थिए । आनन्दप्रसाद ढुंगाना उपस्थित छन् । बिहीबार भने महामन्त्री खड्का पनि अनुपस्थित थिए ।

Featured