देश

मौसमको खराबीले उद्धारका लागि जान लागेको हेलिकोप्टर उड्न सकेन

सुर्खेत, मंसिर ३०–जडीबुटी खोज्न जाँदा बेपत्ता भएका जुम्लाको तिला गाउँपालिका–९, जुम्ला ढिपुगाउँका १२ जनाको खोजी गर्न जान लागेको हेलिकोप्टर मौसमको खराबीका कारण उड्न नसकेको बताइएको छ । जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठका अनुसार सुर्खेतमा नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा छ । तर, भिजिबिलिटी कम भएकाले उड्न सकेको छैन ।

सुर्खेत अन्धकारजस्तै छ्, जसका कारण हेलिकोप्टर उड्न सकेको छैन, आकाश खुल्नेबित्तिकै हेलिकोप्टर उड्ने तयारीमा छ । निमित्त प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने,‘ बेपत्ता नागरिकको खोजबिन सुरू हुनेछ ।तर, हुस्सुका कारण हेलिकोप्टरले उडान भर्न सकेको छैन । उद्धारका लागि बिहान ८ बजे नै हेलिकोप्टर पठाउन खोजिए पनि मौसममा आएको खराबीका कारण समस्या भइरहेको हो । स्थानीयले बेपत्ताको तत्काल उद्धार गर्न स्थानीय प्रशासन तथा सरकारलाई अनुरोध गरेका थिए । एकै गाउँका धेरै जना बेपत्ता भएको खबर पाएसँगै आइतबार जिल्ला सुरक्षा समितिको बैठक बसेर उद्धारका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको थियो ।

जडीबुटी संकलन गर्न गएका उनीहरू चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । बेपत्ता हुनेमा ढिपु गाउँका धनबहादुर बोहोरा, नरवीर बोहोरा, तुल बोहोरा, ननिलाल रावत, सूर्य रावत, छविराज बोहोरा, जंग रावत, सुमबहादुर बोहोरा, मनमाया बोहोरा, रेश्मा बोहोरा, लाउरी बोहोरा र कल्पना बोहोरा रहेका छन् ।

Featured