देश

रोकिएको क्रिकेट रङशाला निर्माणको काम आज देखि पुन: सुरु

चितवन, साउन ०७। रोकिएको क्रिकेट रङशाला निर्माणको काम आज देखि पुन: सुरु भएको छ ।धुर्मुस-सुन्तली फाउण्डेशनले प्रस्तावित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य फेरी सुरु गरेको हो । स्थानीयले डोजर लगाएर रंगशाला निर्माण क्षेत्रको जस्ताको अस्थायी बार भत्काएपछि निर्माण कार्य स्थगित भएको थियो ।फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले वर्षात्‌को समय भएको बताउदै फिल्डमा गर्न मिल्ने जे जति काम हुन्छन् सबै आजबाटै सुरु भएको बताए ।

ठुलो आर्थिक स्रोत जुटाएर गर्नुपर्ने रंगशाला निर्माणमा भने जसरी नगद सहयोग आउन सकेको थिएन । यस्तो बेलामा स्थानीयले नै बार भत्काएपछि नकारात्मक सन्देश गएर थप सहयोग जुट्ने सम्भावना रोकिएको थियो ।चितवनका राजनीतिक दल, जिल्ला समन्वय समिति र भरतपुर महानगरले पटक–पटक बैठक छलफल राखेर फाउण्डेशनलाई काममा फर्कन अनुरोध गर्दै वातावरण बनाउने काम गरेको थियो ।