खेलकुद विदेश

हारबाट मुश्किलले जोगिएको रियलले शीर्ष स्थानमा पुग्ने मौका गुमायो

एजेन्सी, मंसिर ३०–रियल मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ । गएराति भएको महत्वपूर्ण खेलमा रियल मड्रिड भ्यलेन्सियासँग मुस्किलले हारबाट जोगियो । यो सँगै उसले बार्सिलोनालाई पछि पारेर शीर्ष स्थानमा उक्लिने मौका भने गुमाएको छ ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा पराजयको नजिक पुगिसकेको रियल इन्जुरी समयको अन्तिम मिनेटको गोलले हारबाट जोगाएको हो । खेलको ७८ औं मिनेटमा कार्लोस सोलेरले भ्यालेन्सियाका लागि गोल गरेका थिए । पछि परेको रियल मड्रिडका लागि इन्जुरी समयको पाँचौं मिनेटमा करिम बेन्जिमाले बराबरी गोल फर्काएका हुन् ।

बराबरीपछि दोस्रो स्थानको रियल मड्रिडको १६ खेलबाट ३५ अंक भएको छ । समान खेलबाट समान ३५ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ । यस्तै ला लिगा अन्तर्गत गएराति भएका अरु खेलमा गेटाफेले रियल भालाडोलिडलाई २–० तथा भिल्लारियलले सेभिल्लालाई २–१ ले पराजित गरेको छ । यस्तै स्पानियोल र रियल बेटिस तथा सेल्टा डी भिगो र मालोर्काले समान २–२ को बराबरी खेलेका छन् ।

Featured