खेलकुद विदेश

डे ब्रुएन चम्किँदा म्यान्चेस्टर सिटीद्वारा आर्सनल पराजित

एजेन्सी, मंसिर ३०–इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले प्रभावशाली जित दर्ता गरेको छ । लिग अन्तर्गत आर्सनलको मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम सिटीले आर्सनललाई ३–० ले पराजित गरेको हो । सिटीको जितमा केविन डी ब्रुएनले महत्वपूर्ण भूमिका खेले । उनले दुई गोल गरे भने रहीम स्ट्रर्लिङ्गले गरेको गोलका लागि पास उपलब्ध गराए । तीनै गोल पहिलो हाफमा नै भएको हो ।

डे ब्रुएनले खेलको दोस्रो मिनेटमा नै गोल गर्दै सिटीलाई सुरुवाति अग्रता दिलाएका थिए । खेलको १५ औं मिनेटमा स्ट्रर्लिङ्गले गोल गर्दैं अग्रता दोब्बर पारे भने ४० औं मिनेटमा डे ब्रुएनले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले पहिलो हाफमै ३–० को अग्रता लियो । दोस्रो हाफबाट दुवै तर्फबाट गोल हुन सकेन र म्यानचेस्टर सिटी ३–० ले विजयी भयो । जितपछि तेस्रो स्थानको सिटीको १७ खेलबाट ३५ अंक भएको छ । सिटी दोस्रो स्थानको लेस्टर भन्दा चार तथा शीर्ष स्थानको लिभरपुल भन्दा १४ अंकले पछि परेको छ । पराजित भएको आर्सनल भने १७ खेलबाट २२ अंकसहित नवौं स्थानमा छ ।

Featured