देश

माथिल्लो अरुण जलविद्युत् आयोजनाः निर्माण तयारी अन्तिम चरणमा

काठमाडौं, मंसिर ३०–सङ्खुवासभाको भोटखोलामा बनाउन लागिएको एक हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना आर्थिक रूपले आकर्षक देखिएको छ । यो आयोजनाको सम्भाव्यता अध्ययनले प्राविधिक रूपले चुस्त र उत्पादन लागत, लगानी प्रतिफलमा आकर्षक देखाएको हो । सरकारी आयोजनाका रूपमा नेपाल विद्युत् प्राधिकरण मातहत बनाउन लागिएको अर्धजलाशययुक्त सो आयोजना जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत विकास गर्न लागिएको हो । यो योजनाको निर्माण तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

आयोजना मन्त्रिपरिषद्ले गत वर्षको असोजमा कम्पनी मोडेलमा बनाउने निर्णय गरेको थियो । माथिल्लो अरुण जलविद्युत् आयोजनालाई गेमचेन्जर आयोजनाका रूपमा पनि हेरिएको छ । सन् २०२२ को अन्त्यतिरबाट निर्माण थाल्ने र २०२७ को मेसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको कुल लागत निर्माण अवधिको ब्याजसमेत गरी एक खर्ब ६० अर्ब रुपियाँ रहेको छ । यसअनुसार प्रतिमेगावाट लागत १५ करोड ८ लाख रुपियाँ हुन्छ ।

वार्षिक चार हजार ५१२ गिगावाट आवर विद्युत् उत्पादन हुने यो आयोजनाबाट सुक्खायामका चार महिनामा मात्रै २८ प्रतिशत विद्युत् उत्पादन हुनेछ । प्रतिवेदनअनुसार प्रतिवाट विद्युत् उत्पादन लागत ३.५ सेन्ट (अमेरिकी डलर) रहनेछ । त्यस्तै आर्थिक प्रतिफल दर १७.९ प्रतिशत र लागत प्रतिफल अनुपात लगानीको दोब्बर हुनेछ । आयोजनाको परामर्शदाता कम्पनी सीएसपीडीआर–सिनोटेक जेभीले मंसिर १३ गते निर्माण कम्पनी अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीलाई सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको छ ।

‘निर्माणको तयारी अन्तिम चरणमा’
अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीका प्रमुख रामचन्द्र पौड्यालका अनुसार यो आयोजनालाई नेपाल विद्युत् प्राधिकरणले उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको छ । ‘आर्थिक तथा प्राविधिक हिसाबले यो आयोजना अत्यन्तै अकर्षक हुने देखिएको छ,’ उनले भने, ‘उच्च प्राथमिकताका साथ निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ ।’ कम्पनीले अहिले सम्भाव्यता अध्ययन प्रतिवेदनका विज्ञ समूहबीच अध्ययन गराइरहेको छ । परामर्शदाताले विस्तृत इन्जिनियरिङ अध्ययनको काम गरिरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।

Featured