देश

जडीबुटी संकलन गर्न गएका १२ जना बेपत्ता

सुर्खेत, मंसिर २९–जुम्लाको तिला गाउँपालिका–९ स्थित शेरा फूलबारी पाटनमा जडीबुटी संकलन गर्न गएका १२ जना बेपत्ता भएका छन् । पाटनमा जडीबुटी संकलन गर्न गएका तिला गाउँपालिका–९, ढिपु गाउँका १२ जना बेपत्ता भएका हुन् । बिहीबार सेतक चिनी, भुल्ते, धुपी र पदमचाल जडीबुटी संकलनका लागि उनीहरू पाटनतिर गएका थिए । जडीबुटी संकलनका लागि गएकाहरूसँग कुनै सम्पर्क हुन नसकेको तिला गाउँपालिका– ९ का वडा अध्यक्ष शेरबहादुर बोहोराले बताए ।

बेपत्ता हुनेमा तिला गाउँपालिका– ९, ढिपु गाउँका धनबहादुर बोहोरा, छविराज बोहोरा, जंग रावत, सुमबहादुर बोहोरा, नरवीर बोहोरा, तुलु बोहोरा, ननिलाल रावत, सूर्य रावत, कल्पना बोहोरा, लाउरी बोहोरा, रेश्मा बोहोरा र मनमाया बोहोरा रहेका छन् । वडा अध्यक्ष बोहोराका अनुसार उनीहरू सोमबार बेलुकासम्म कुनै पनि सम्पर्कमा आएका छैनन् । फूलबारी पाटनमा हिँडेर जान सकिने अवस्था नरहेको र हेलिकोप्टरबाहेकको विकल्प नरहेको स्थानीयले बताएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठका अनुसार सबै सुरक्षित नै रहेको, हिउँका कारणले थुनिएको खबर आएको बताए । ‘आज हेलिकोप्टरबाट उद्धार गर्न सजिलो छैन,’ उनले भने, ‘भोलि बिहान मात्र उद्धारको सम्भावना छ ।’ प्रजिअ श्रेष्ठले बेपत्ता भएकाहरूको उद्धारका लागि हेलिकोप्टरको माग गरिएको छ ।’

एक जनाको मृत्यु
फुलबारी पाटनमा एक जना खच्चड गोठालाको समेत हिउँमा परी मृत्यु भएको छ । तिला गाउँपालिका– ६ को नेटा भन्ने ठाउँमा चिसोले कठयाङ्ग्रिएर तिला गाउँपालिका– ९ का बीनबहादुर बोहोराको मृत्यु भएको हो । पाटनबाट घर फर्कने क्रममा उनको बीच बाटोमै मृत्यु भएको वडाध्यक्ष बोहोराले बताए ।

Featured