देश राजनीति

पौडेलको प्रतिक्षामा देउवा

काठमाडौं, मंसिर २९–नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको दोश्रो दिनको बैठकसमेत नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले बहिष्कार गरेका छन् । नेता पौडेललाई मनाउन पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधि पौडेल निवास बोहोराटार नै गएका थिए । बिहीबारको बैठकमा पार्टी सभापति देउवाले १४ औं महाधिवेशनको कार्यतालिका पेश नगर्ने संकेत पाएपछि बैठकमा अनुपस्थित भएका पौडेले दोश्रो बैठकमा पनि गएननन् ।

आफ्नो पूर्व्निर्धा्रित कार्यक्रम भन्दै पाथिभरा देवीको दर्शन गर्न ताप्लेजुङ गएका पौडेल आइतबारको बैठकमा आएनन भने महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव र पूर्वमहामन्त्री प्रकाशमान सिंह भने पौडेल बैठकमा सहभागी भएपछि मात्र आउने भन्दै बैठकमा अनुपस्थित रहे । आइतबार १ बजे बस्ने बैठक पौडेल समूहका केन्द्रीय सदस्यको प्रतिक्षामा दिउँसो चार बजेसम्म शुरू नै भएन । पौडेल समूहका कोही पनि बैठकमा सहभागी नहुने भएपछि ४ बजे शुरु भएको बैठकमा उपसभापति विमलेन्द्र निधिले असन्तुष्ट नेता पौडेललगायतका केन्द्रीय सदस्य सोमबारको बैठकमा आउने विश्वास दिलाए ।

‘रामचन्द्रजीहरुकै प्रस्तावमा हामीले नौं बुँदे एजेण्डा केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका हौं’, उपसभपाति निधिको भनाइ उधृत गर्दै केन्द्रीय सदस्य मीन विश्वकर्माले भने, ‘अब भोलिको बैठकमा उहाँहरु आउनुहुन्छ र महाधिवेशनको कार्यतालिका चाँडो ल्याउनको लागि निर्णय गर्दै अघि बढ्न सहयोग गर्नुहुनेछ ।’ उपसभपाति निधिले पौडेल, कोइराला र सिंहसँग गरेको अनौपचारिक छलफलमा असन्तुष्ट पक्षले आफूहरुलाई ४१ विभागमध्ये २० वटा दिनुपर्ने, त्यसमा पनि अन्तर्रा्ष्ट्रिय सम्बन्ध, संगठन र प्रचार विभाग आफूहरुलाई चाहिने भनेर प्रस्ताव गरेका छन् ।

सभापति देउवा भने ५० प्रतिशत विभाग पौडेललाई दिन तयार भए पनि संगठन विभाग, अन्तर्रा्ष्ट्रिय विभाग र प्रचार विभाग दिन मानेका छैनन् । देउवा अन्तर्रा्ष्ट्रिय सम्बन्ध विभागमा सुजाता कोइरालालाई संयोजक बनाउन भने तयार रहेको स्रोतले जनायो । पौडेल समूहले बहिष्कार गरेको बिहीबारको बैठकमा महेश आचार्य र आनन्दप्रसाद ढुंगाना भने सहभागी थिए । बैठकमा नेता कृष्णप्रसाद सिटौला अनुपस्थित भए पनि उनको समूहका उमाकान्त चौधरी र शिवप्रसाद हुमागाईं उपस्थित थिए ।

Featured