देश

नेकपा स्थायी कमिटीः कालापानी बन्यो एजेण्डा, वामदेवको पदमा छलफल नै भएन

काठमाडौं, मंसिर २९–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । धुम्बाराहीस्थित नेकपाको केन्द्रीय कार्यालयमा बसेको बैठकमा दाहालले प्रतिवेदन पेश गरेका हुन् । स्थायी समिति बैठक बस्नुअघि अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहितको सचिवालय बैठकबाट प्रतिवेदनमा सहमति जुटाइएको थियो । सचिवालयले तय गरेका पाँचबुँदे कार्यसूची लिएर बसेको बैठकमा प्रतिवेदन पेश भएपछि सामान्य छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

उनका अनुसार बैठकमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन, विधान संशोधन, आगामी केन्द्रीय कमिटी बैठक तय गर्ने, नेपाल भारत सीमा समस्यालगायतका एजेण्डा पेस भएका छन् । यी एजेण्डामा भोलि पुनः बस्ने स्थायी कमिटी बैठकमा छलफल हुने प्रवक्ता श्रेष्ठले बताए । दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अन्तर्रा्ष्ट्रिय परिस्थिति, राष्ट्रिय परिस्थिति, पार्टी एकताको सदृढीकरण, सरकारका कामको सामान्य समीक्षा, उपनिर्वाचनको समीक्षा, आगामी कार्ययोजनालगायत छन् ।

प्रतिवेदनमा दाहालले उपनिर्वाचनमा पार्टी तुलनात्मक रूपमा कमजोर भएको, कालापानी सीमा विवादमा पार्टीको स्पष्ट दृष्टिकोण हुनुपर्नेलगायतका विषय समेटिएका छन् । नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव भने सचिवालय बैठकमा विवादित बनेपछि केन्द्रीय कमिटीमा छलफल गर्ने गरी थाँती राखिएको एक नेताले बताए ।

Featured