खेलकुद देश

पीपीएलमा पोखराको विजयी सुरुवात

काठमाडौं, मंसिर २९–पोखरा पल्टनले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल)मा विजयी सुरुवात गरेको छ । आइतबार पोखरा रंगशालामा काठमाडौं गोल्डेन वारियर्सलाई ९ विकेटले हराउँदै साविक विजेता पोखरा पल्टनले पीपीएलमा सुखद सुरुवात गरेको हो । काठमाडौंबाट पाएको १ सय १६ रनको लक्ष्य पोखराले १ विकेटको क्षतिमा १४ आभेर १ बलमै पूरा र्गयो । यस क्रममा ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरे । ४३ बलको सामना गरेका उनले ४ चौका र ५ छक्काको मद्दतमा नटआउट ६५ रन बनाए । यसैगरी, अर्का ओपनर आसिफ शेखले १४ रन भने रवि इन्दर सिंह ३८ रनमा नटआउट रहे । काठमाडौंका सुशन भारीले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ रोजेको काठमाडौं वारियर्सले निर्धा्रित ओभरमा ८ विकेटको क्षतिमा १ सय १५ रनको योगफल तयार गरेको थियो ।

काठमाडौंका लागि सुवोध भाटीले २९ बलमा ४ छक्का र ४ चौका प्रहार गरे । ओपनर जयकिसन कोल्सावाला ९, सुवास खकुरेल ६, गौरव तोमर १३, कप्तान ज्ञानेन्द्र मल्ल १, पवन सर्राफ ६ र पृथु बाँस्कोटाले ७ रन मात्र जोड्न सके । बसन्त रेग्मी ८ र शुसान भारी १० रनमा नटआउट रहे । पोखराका रशिद खान, ललित नारायण राजवंशी र कुशल मल्लले २–२ विकेट लिए । शरवजित लड्डा र प्रथमेस डाकेले १–१ विकेट हात पारे ।

शनिबार वर्षाका कारण खेल अवरुद्ध भएपछि दोस्रो संस्करणको पीपीएल आइतबार सुरु भएको हो । १२ पुससम्म चल्ने प्रतियोगितामा ६ शहरको नामबाट निर्मित फ्रेन्चाइज टिमबीच प्रतिस्पर्धा गर्नेछन् । लिग चरणमा शीर्षस्थानमा रहने टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ । दोस्रो र तेस्रो हुने टिमबीच इलिमिनेटर खेल हुने प्रावधान छ । क्विन्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा सुरु प्रतियोगिताका विजेताले पाउने प्लेट आकारको ट्रफी शुक्रबार गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरेका थिए ।

पोखरा पल्टन, चितवन राइनोज, धनगढी ब्लुज, बुटवल ब्लास्टर्स, काठमाडौं गोल्डेन्स र विराटनगर टाइटन्स टिम प्रतियोगितामा सहभागी छन् । पोखराको कप्तानी शरद भेषावकर, चितवनको पारस खड्का, धनगढीको दीपेन्द्रसिंह ऐरी, बुटवलको सोमपाल कामी, काठमाडौंको ज्ञानेन्द्र मल्ल र विराटनगरको कप्तानी प्रदीप ऐरीले सम्हालेका छन् । उपाधि विजेताले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । मोस्ट भ्यालुएबल खेलाडीले १ लाख र इमर्जिङ खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार जित्नेछन् । हरेक खेलको ’म्यान अफ द म्याच’ले १० हजार रुपैयाँ पाउनेछन् ।

Featured