देश

अब विकास निर्माणले गति लिन्छ : मुख्य मन्त्री गुरुङ

पोखरा, मंसिर २९–गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशको आवश्यक कानुन र विकास निर्माणमा हुने गरेका अवरोधलाई हटाइएका कारण अब विकास निर्माणसँगै समृद्धि आउने दाबी गरेका छन् । पोखरा महानगरपालिका– २३, चापाकोटमा सुरू भएको ‘चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव’ को उद्घाटन गर्दै उनले विकासका बाधकहरूलाई जनप्रतिनिधि र जनताले हटाइसकेकाले आगामी दिनमा गाउँगाउँसम्म विकास पुग्ने बताए । ‘पहिले विकासका बाधक राजा थिए, राजा हटाइयो,’ उनले भने, ‘नेपालमा एउटा मात्र सरकार थियो, अहिले गाउँगाउँसम्म सरकार र्पुयाएका छौं ।’

उनले आगामी दिनमा गाउँगाउँका गुमनाम बस्तीसम्म विकास र पूर्वाधार निर्माणका कार्यले गति लिने विश्वास व्यक्त गरे । गण्डकी प्रदेश सरकारले प्रदेशका ५ लाख ७८ हजार घरमा विद्युतीकरण गर्ने काम थालिसकेको उनको भनाइ थियो । उनका अनुसार प्रदेशका सम्पूर्ण घरधुरीमा बिजुली र्पुयाउन सरकारले नेपाल विद्युत् प्राधिकरणसगँ सम्झौता गरेर काम थालिसकेको छ ।

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशका सबै घरमा एक घर एक धारा कार्यक्रमलाई पनि अगाडि बढाएको बताए । उनले पोखरा २३ मा आवश्यक पुल र सडक बनाउने कामलाई प्रदेश सरकारले सघाउने विश्वास दिलाए । उनले होमस्टेले ग्रामीण क्षेत्रको विकास गर्ने बताए । प्रदेश सरकारले होमस्टेमा वार्षिक कति पर्यटक आए, आर्थिक अवस्था कस्तो छ, विकास गर्न केके पूर्वाधार आवश्यक छन्लगायतका बारेमा छिट्टै अध्ययन थाल्ने उनले बताए ।

गण्डकी प्रदेशका सांसद राजीव पहारीले फेवाताल संरक्षणका लागि जलाधार क्षेत्रको संरक्षण गर्नुपर्ने बताए । उनले महानगरपालिकाले फेवाताल संरक्षणका लागि चेकड्याम निमार्णको काम थालेको बताए । उनले पोखराको पर्यटन फेवातालसँग जोडिएकाले फेवातालको संरक्षण र सम्बद्र्धनमा सबै सरोकार निकायले चासो दिनुपर्नेमा जोड दिए । गतवर्षदेखि शुरू भएको होमस्टेको प्रचारप्रसारलाई ध्यानमा राखेर महोत्सवको आयोजना गरिएको चापाकोट पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष भीमप्रसाद पराजुलीले बताए । पोखराबाट १३ किलोमिटरको दूरी पार गरेपछि पुगिने पर्यटकीय क्षेत्र चापाकोटमा पर्यटन प्रवर्द्धन गर्न सकिए गाउँ आत्मनिर्भर हुने स्थानीयको विश्वास छ ।

Featured