विदेश

दक्षिण फिलिपिन्समा शक्तिशाली भूकम्प

एजेन्सी, मंसिर २९–फिलिपिन्सको दक्षिणी मिन्डानाओमा आइतबार ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । यही क्षेत्रमा गत अक्टोबरमा पनि शृंखलावद्ध रूपमा भूकम्प गएका थिए । फिलिपिन्स भूकम्प अध्ययन इन्स्टिच्युटले भूकम्पको धक्का निकै शक्तिशाली महसुस भएको जनाएको छ । भूकम्पबाट आत्तिएका मानिसहरू घरबाट बाहिर सडक र खुला स्थानमा निस्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

अमेरिकी भौगर्भिक सर्वेले सुनामीको खतरा भने नरहेको जनाएको छ । प्रारम्भिक अध्ययनमा उक्त भूकम्प ६.९ म्याग्निच्युडको मापन गरिएको थियो । गत अक्टोबरमा मिन्डानाओलाई नै केन्द्रविन्दु बनाएर ६ म्याग्निच्युडभन्दा ठूला तीनवटा भूकम्प गएका थिए । उक्त भूकम्पबाट केही दर्जन मानिसको मृत्यु हुनुका साथै भवनहरूमा क्षति पुगेको थियो । यो क्षेत्र भूकम्पीय जोखिममा रहेको छ, र बारम्बार भूकम्प जाने गर्दछ ।

Featured