खेलकुद

एसिया छनोटको पहिलो खेलमै नेपाल पराजित

काठमाडौँ, साउन ७-एसिया छनोटको पहिलो खेलमै कतारसँग पराजित भएपछि दोस्रोपल्ट ट्वान्टी२० विश्वकप खेल्ने लक्ष्यमा रहेको नेपालका लागि ठूलो झड्का लागेको छ।

सिंगापुरमा भएको प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा प्रतियोगिताकै उच्च वरीयताको नेपालले अप्रत्यासित पराजय ब्यहोरेको छ। कतार ४ विकेटले विजयी भएको हो।

कतारले हिजो भएको खेलमा आयोजक सिंगापुरसँग ३३ रनको पराजय ब्यहोरेको थियो। पाँच टोली सम्मिलित प्रतियोगिता राउन्ड रोविन लिग प्रणालीमा हुनेछ। जसको शीर्ष स्थानमा रहने टोलीले अक्टोवर ११ देखि नोभेम्बर ३ सम्म युएईमा हुने ग्लोवल क्वालिफायरमा स्थान बनाउनेछ।

प्रतियोगितामा कतारको २ खेलबाट २ अंक भएको छ। सिंगापुर र मलेसियाले समान १ खेल खेलेर २ अंक जोडेका छन्। नेपाल र कुवेत अहिलेसम्म अंकबिहीन छन्। शीर्ष स्थानमा रहेर ग्लोवल क्वालिफायरमा स्थान बनाउनका लागि नेपालले बाँकी तीनै खेलमा ठूलो अन्तरको जित हासिल गर्नुपर्छ।

नेपालले बुधबार मलेसियासँग खेल्नेछ भने शनिबार सिंगापुर र आइतबार कुवेतबिरुद्ध खेल्नेछ।

Featured