विदेश

नागरिकता कानुनविरुद्धको आन्दोलनमा छ जनाको मृत्यु

एजेन्सी, मंसिर २९–भारतमा हालै पारित भएको विवादास्पद नागरिकतासम्बन्धी कानुनको विरुद्धमा भएको आन्दोलनका क्रममा छ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये तीन जनाको प्रहरीको गोली लागी मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । कानुन पारित भएदेखि नै भारतको उत्तरपूर्वी क्षेत्रमा लगातार आन्दोलन भइरहेको छ । आन्दोलनलाई ध्यानमा राखेर सुरक्षा निकायहरूले विभिन्न क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिदिएका छन् भने कतिपय क्षेत्रमा कर्फ्यू लगाएका छन् ।

आन्दोलनको मुख्य केन्द्र आसाम राज्यको मुख्य शहर गुहाटीमा भएको छ । भारतका पूर्वोत्तर राज्यहरू आसाम, मिजोरम, नागाल्याण्डलगायतमा विशेषाधिकारसहित नागरिकताको व्यवस्था भएकाले ती क्षेत्रमा आन्दोलन बढी भएको हो । सो विधेयकमा ३१ डिसेम्बर २०१४ भन्दा अगाडि पाकिस्तान, अफगानिस्तान तथा बंगलादेशबाट भारतमा आएर बसोबास गर्ने हिन्दु, इसाई, बौद्ध, जैन, शिख तथा फारसीलाई भारतको नागरिकता दिने व्यवस्था छ । भारतको नागरिकता दिन योग्य ठहरिएमा ६ वर्ष्भित्र त्यस्ता व्यक्तिलाई दिन सकिने व्यवस्था उक्त विधेयकमा गरिएको छ । भारतको संघीय संसदले गत बुधबार नागरिकतासम्बन्धी विधेयकमा केही संशोधन गरेर पारित गरेको थियो ।

भारतमा लामो समयदेखि बस्दै आएका धेरै अनागरिकहरूले पनि नयाँ कानुनअनुसार नागरिकता पाउने भएपछि भारतीय नागरिकहरू कानुनको पक्ष र विपक्षमा विभाजित भएका छन् । विशेष गरेर सत्तारुढ दल कानुनको पक्षमा रहेको छ भने अन्य दल तथा कतिपय नागरिक अगुवाहरू यो नयाँ कानुनको विपक्षमा उभिएका छन् । भारतीय गृहमन्त्री अमित शाहले भारत स्वतन्त्र हुँदा नै धर्मको आधारमा हिन्दुस्तान विभाजित भएकाले सो विधेयक ल्याउन जरुरी रहेको बताए । तर, विपक्षीहरूले विधेयकलाई संविधानविरोधी विधेयक भन्दै विरोध गरिरहेका छन् । उता, संयुक्त राष्ट्र संघको मानवअधिकारसम्बन्धी उच्च आयुक्तको कार्यालयले भारतको नागरिकता संशोधन विधेयक २०१९ विभेदकारी रहेको जनाएको छ ।

Featured