देश

सीएसआईटीका प्राध्यापक र विद्यार्थी आन्दोलनमा

काठमाडौं, मंसिर २९–विभिन्न माग राख्दै कम्युटर साइन्स र आईटी कलेजका प्राध्यापक र विद्यार्थीहरु आन्दोलनमा उत्रेका छन् । सीएसआईटीका विद्यार्थीलाई खुल्ला प्रतिस्पर्धाबाट रोक्ने लोकसेवा आयोगको निर्णय फिर्ता गर्नुपर्ने, आईटी काउन्सिल स्थापना गर्नुपर्ने, त्रिविले उपलब्ध गराएको १० प्रतिशत छात्रवृत्ति कलेजहरुमा अनिवार्य कार्यान्वयन गराउनुपर्नेलगायत ११ बुँदे माग राख्दै प्राध्यापक र विद्यार्थीहरु आन्दोलनमा उत्रेका हुन् । कम्प्युटर साइन्स आल्मुनाइ एसोसिएसन, स्टुडेन्ट एसोसिएसन अफ कम्प्युटर साइन्स, कम्प्युटर साइन्स एण्ड आईटी एसोसिएसन अफ नेपाल र आईटी कलेजका शिक्षकहरुले आइतबार संयुक्त रूपमा माइतीघर मण्डलासहित देशभर प्रदर्शन गरे ।

आइतबार काठमाडौंको माइतीघरमा सयौंको संख्यामा भेला भएका प्राध्यापक र विद्यार्थीले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिए ।विभिन्न सरकारी निकाय, सस्थानमा लोकसेवा आयोगमार्फत हुने सूचना प्राविधिसम्बन्धी विभिन्न पदमा खुल्ला प्रतिस्पर्धाबाट वञ्चित गराइ सीएसआईटी पढेका हजरौं विद्यार्थीमाथि अन्याय गरेको, विश्वव्यापी रुपमा पहिचान भएको विषयलाई सरकारी निकायले नै अवसरबाट वञ्चित गराएको तथा यसैको सिलसिलामा त्रिविबाट सञ्चालित उपप्रध्यापकको परीक्षामा समेत गम्भीर त्रुटी भएकाले आन्दोलनमा उत्रिनुपरेको विद्यार्थीहरुले बताएका छन् । कम्प्युटर साइन्स आल्मुनाइ एसोसिएसनका अध्यक्ष सुशान्त पौडेलले राज्यले सुनियोजित रुपमा आफूहरुमाथि विभेद गरेको आरोप लगाए । ‘हाम्रा माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ, बरु अझै कडा भएर आन्दोलनमा उत्रिने छौं,’ उनले भने ।

Featured