देश

सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो

सिन्धुपाल्चोक, मंसिर २९–सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामो साँघु–जिरी सडकअन्तर्गत ६ किलो मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दोलखाको कालिन्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस बिहान ७ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा २० जना घाइते भएका छन् । घाइतेहरूको सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेहरूलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख सई राजेश दाहालका अनुसार ६ किलोको मोडबाट पल्टिएको बस सडकमै पुगेको थियो।

कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको सो बस दुर्घटना भएको हो । सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । बसमा कति कति यात्रु थिए भन्ने यकिन नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । प्रहरी र स्थानीयबासीले घाइतेको उद्धार गरिरहेका छन् । सिन्धुपाल्चोकमा एक महिनामा भएको यो दोस्रो ठूलो दुर्घटना हो । गत महिना सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको थियो ।

Featured