देश

मुख्य मन्त्री राउतद्वारा धनुषा विष्फोटनका पीडित परिवारसँग भेट

जनकपुर, मंसिर २९–प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा भएको बम बिस्फोटनका पीडित परिवारसँग भेट गरेका छन् । आइतबार बिहान टोलीसहित घटनास्थल पुगेका मुख्य मन्त्री राउतले घाइतेहरूको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने र मृतक परिवारलाई प्रतिमृतक राहतसमेत उपलब्ध गराउने बताए ।

मृतक परिवारलाई उपलब्ध गराइने रकमबारे आउँदो मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरिने बताए । जनकपुरभन्दा केही किलोमिटर मात्रै महेन्द्रनगर हुँदा पनि प्रदेश सरकार पीडित परिवारलाई भेट्न नगएपछि सामाजिक सञ्जालमा प्रदेश सरकारको कडा आलोचना भइरहेको थियो । टोलीमा प्रदेश सभाका सभामुख सरोज यादव, प्रमुख सचेतक शैलेन्द्र यादव, मुख्य न्यायधिवक्ता दिपेन्द्र झा, प्रदेश सभा सदस्य सिंघासन साह कलवारसहितको सहभागिता रहेको थियो ।

बम विस्फोटनमा परी इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दाहाल, औषधि व्यवसायी ४६ वर्षीय राजेश्वर साह र उनका छोरा आनन्द साह रहेका छन् । सो घङटामा साह बाबुछोराको घटनास्थलमै मृत्यु भएको छ भने घाइते भएका प्रहरी निरीक्षक दाहालको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले शनिबार नै तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरू विप्लव नेकपासँग आवद्ध रहेको बताइएको छ । पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश नम्बर २ संयोजक ५१ वर्षीय सीतादेवी महरा, केन्द्रीय सदस्य ४१ वर्षीय ललिता महरा र रामसोभित गाहा रहेका छन् । पक्राउ परेका ३ जनामाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Featured