देश

शुक्रबार दिनभरको झरीले इँटा नष्ट

राँझा, मंसिर २८–शुक्रबार दिनभरको झरीका कारण बाँकेमा इँटा व्यवसायीले १० करोड रुपैयाँभन्दा बढीको नोक्सानी व्यहोर्नुपरेको छ । तयार पारिएको काँचो इँटा गलेर नष्ट भएका कारण व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नुपरेको इँटा व्यवसायी संघ बाँकेका अध्यक्ष जैनुल खाँले बताए । उनका अनुसार शुक्रबारको वर्षाले प्रत्येक इँटा व्यवसायीको २० लाख रुपैयाँका दरले क्षति भएको अनुमान छ । झरीले बाँकेका ५२ र बर्दियाका १८ गरी ७० इँटा व्यवसायीको अनुमानित ७ करोड काँचो इँटा काम नलाग्ने गरी नष्ट पारेको छ । एउटै व्यवसायीको पकाउन राखिएका १० लाखसम्म इँटा गलेर काम नलाग्ने भएको बाँकेका इँटा व्यवसायी दीपक अधिकारीले जानकारी दिए ।

उनका अनुसार यो झरीमा सात करोड इँटा नष्ट भएकाले अर्को पटक इँटा उत्पादन नहुँदासम्म इँटा अभावको सम्भावना देखिएको छ । इँटा उत्पादकले सिजनमा सात पटकसम्म इँटा उत्पादन गर्ने गरेका छन् । एक पटकमा छ देखि १० लाखसम्म इँटा तयार पारिने व्यवसायी अधिकारीले बताए । शुक्रबारको झरीले बाँकेका धेरैजसो इँटा उद्योगका काँचो इँटा गलेर नष्ट छ । इँटाको बिमा गर्ने व्यवस्था नभएका कारण व्यवसायीले ठूलो क्षति व्यहोर्नुपरेको संघका अध्यक्ष खाँको भनाइ थियो । व्यवसायीले इँटाको पनि बिमा हुनुपर्ने माग गरेका छन् । (रासस)

Featured