देश

बम विस्फोटका मृतक अमिर :१४ वर्ष झलनाथको पीएसओ, संगठनमा स्वच्छ छवी

जनकपुर, मंसिर २८–धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा शुक्रबार राति भएको बम विस्फोटमा परी घरधनी राजेश साह, उनका छोरा र संखुवासभा स्थायी घर भएका इलाका प्रहरी कार्यालय महेन्द्र नगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको मृत्यु भयो । मृतक तीनमध्ये इन्स्पेक्टर दाहाल सुरक्षार्थ खटिएका सुरक्षाकर्मी थिए । थोरै असावधानीले उनले पनि प्राण त्याग्नुपर्याे ।

संखुवासभाको मादी नगरपालिका–२ मा घर भएका दाहाल १ कात्तिक २०५५ मा प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना भएका थिए । उनी ९ असोज २०६० मा प्रहरी नायब निरीक्षक (सई) मा बढुवा भए । त्यसपछि १९ वैशाख २०७५ मा प्रहरी निरीक्षकमा बढुवा भएका दाहाल ३० कात्तिक २०७५ देखि धनुषामा कार्यरत थिए ।इलाका प्रहरी कार्यालय धनुषाधामको कार्यालय प्रमुख भएर काम गरेका दाहाल करिब १ वर्षदेखि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत थिए । प्रहरीमा भर्ना भएदेखि हालसम्म ३ पटक पुरस्कार पाएका दाहाल संगठनमा अब्बल तथा इमान्दार पात्रका रुपमा परिचित थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अवधेश यादवका अनुसार दाहाल सई हुँदा करिब १४ वर्षजति पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता झलनाथ खनालका निजी सुरक्षा अधिकारी (पीएसओ) रहेका थिए ।

मृतक दाहालकी श्रीमती (रेश्मा) र एक छोरा छन् ।‘प्रहरी निरीक्षक दाहालले आफ्नो कामबाट सबै स्थानीयवासीको मन जित्न सफल हुनुभएको थियो,’ क्षिरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख योगेन्द्र पजियारले भने, ‘उहाँले सबै जनताको मन जित्न सफल भएकै कारण नगरवासी समेत दुःखी भएका छन् ।’ देशले एउटा असल प्रहरी अधिकारी गुमाएको उनले बताए । ‘जनतासँग व्यवहार गर्दा, बोल्दा अति नै मिजासिलो भएर बोल्ने गरेका इन्स्पेक्टर दाहालको निधन हुँदा हामी मर्माहत भएका छौं,’ नगरप्रमुख पजियारले भने ।

जिल्ला प्रहरी कार्यालय धनुषामा अनुसन्धान अधिकृतको रुपमा कार्यरत प्रहरी निरीक्षक उमाशंकरप्रसाद साहले एउटा असल साथी गुमाउनुपरेको बताए । घटनाको अनुसन्धानमा खटिएका साहले भने, ‘उहाँ इञ्चार्जको रुपमा त्यहाँ खटिनुभएको थियो, हालसम्म कुनै पनि विवाद, राजनीतिक आग्रह वा पूर्वाग्रह तथा पक्षपात आदिको कुनै सिकायत आएको थिएन ।’ शुक्रबार राति महेन्द्रनगरमा भएको बम विस्फोटनमा परी प्रहरी निरीक्षक (इन्स्पेक्टर) दाहालसहित बम राखिएको घरका धनी ४६ वर्षीय राजेश साह र उनका छोरा २४ वर्षीय आनन्दको मृत्यु भएको थियो ।

Featured