देश

कलाकार दीपक क्षेत्री सुतेकै अवस्थामा मृत भेटिए

काठमाडौं, मंसिर २८–वरिष्ठ कलाकार दीपक क्षेत्री सुतेको अवस्थामा मृत फेला परेका छन् । ५८ वर्षिय क्षेत्री शनिबार डिल्लीबजारस्थित आफ्नै डेरामा मृत फेला परेका हुन् । शुक्रबार साँझ चलचित्रको रेकर्डिङ गरेर कोठा गएका क्षेत्रीले शनिबार धेरै बेरसम्म पनि ढोका नखोलेपछि उनका छोराले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोका फुटाएर भित्र जाँदा उनको सुतेकै ठाउँमा मृत्यु भइसकेको थियो ।

हाल उनको शवलाई पोस्टमार्टमका लागि महाराजगंजस्थित शिक्षण अस्पतालमा राखिएको छ । उनको मृत्युको कारण पोस्टमार्टमपछि मात्र खुल्ने छ । गत वर्ष स्वर नलीमा सिस्ट पलाएर स्वर गुमाएका कारण क्षेत्रीले केही समय कलाकारिताबाट विश्राम लिएका थिए । तर, सफल शल्यक्रियाबाट स्वर फिर्ता आएपछि उनी पुनः अभिनयमा फर्किएका थिए । पछिल्लोपटक उनले अभिनय गरेको चलचित्र ‘छ माया छपक्कै’ सुपरहिट भएको थियो ।

हाल उनकी श्रीमती र छोरी एक अवार्ड कार्यक्रममा सहभागी हुन मलेसियामा रहेका छन् । श्रीमती र छोरी नेपाल फर्किएपछि मात्र क्षेत्रीको अन्त्येष्टि गरिनेछ । खलनायक र चरित्र अभिनेताका रुपमा बढी देखिने स्व. क्षेत्रीले जीवनदान, सिमाना, झोला, सेतो सूर्य, राज्जा रानी, मसानलगायत सयभन्दा बढी नेपाली चलचित्र तथा टेलिचलचित्रमा अभिनय गरेका छन् ।

Featured