मनोरंजन विदेश

१६ वर्षे किशोरले दिए सलमान खानको घरमा बम पड्काइदिने धम्की

काठमाडौं, मंसिर २८–भारतको गाजियावादका एक १६ वर्षे किशोरले बलिउडका लोकप्रिय अभिनेता सलमान खानको घरमा बम पड्काइदिने धम्की दिएका छन् । उनले डिसेम्बर ४ मा मुम्बई पुलिसलाई इमेल गरेर सलमान खानको घरमा बम पड्काइदिने धम्की दिएका हुन् । ‘बान्द्राको ग्यालेक्सीमा रहेको सलमान खानको घरमा अबको २ घण्टामा बम विष्फोट हुँदैछ । रोक्न सक्छौ भने रोकेर देखाउ,’ मुम्बई पुलिसलाई आएको इमेलमा लेखिएको थियो । मेल पाउना साथ बम डिस्पोजल टोली लिएर मुम्बई पुलिस ग्यालेक्सी अपार्टमेन्ट पुगेको थियो । सलमान खान आफ्नो परिवारसहित बान्द्रामा रहेको ग्यालेक्सी अपार्टमेन्टमा बस्दै आएका छन् ।

तर, प्रहरी अपार्टमेन्टमा पुग्दा सलमान त्यहाँ थिएनन् । उनका पिता सलीम खान, आमा सलमा खान र बहिनी अर्पिता खानमात्र त्यहाँ थिए । प्रहरीले तीनैजनालाई सुरक्षित स्थानमा लगेर पुरै घरमा खोजतलास गरेको थियो । तर, ४ घन्टा खोज्दा पनि बम फेला नपरेपछि इमेलमा दिइएको धम्की झुटोे साबित भएको थियो । त्यसपछि प्रहरीले इमेल पठाउने आईडी र त्यसको आईपी एड्रेस ट्रयाक सुरु गरेको थियो ।

ईमेल ट्रयाक गर्दा गाजियावादमा बस्ने १६ वर्षे किशोरले धम्की दिएको पत्ता लागेको थियो । लोकेसन ट्रेस भएपछि मुम्बई पुलिस तत्काल गाजियावादस्थित किशोरको घरमा गयो । तर, प्रहरी पुग्दासम्म ती किशोर फरार भइसकेका थिए । घरमै रहेका ती किशोरका दाजुले उनलाई घर फर्किन वाध्य पारेपछि प्रहरीले उनलाई बान्द्रा पुलिस स्टेसनमा आत्मसमर्पण गर्न पत्राचार गरेको थियो । आत्मसमर्पणपछि उनलाई जुभेनाइल कोर्ट (बाल अदालत) मा पेश गरियो । हाल उनलाई अदालतले रिहा गरिसकेको छ ।

Featured