खेलकुद देश

‘ए’ डिभिजन लिग सुरु, मच्छिन्द्रको विजयी सुरुवात

काठमाडौं, मंसिर २८–शनिबारबाट सुरू भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा मच्छिन्द्रले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई २–० ले पराजित गरेको हो । राष्ट्रिय टिमका आधा दर्जन खेलाडीसहित मैदानमा ओर्लिएको मछिन्द्रलाई योगेश गुरुङले गोल गर्दै ३०औं मिनेटमा पहिलो अग्रता दिलाएका थिए । विशाल राईले प्रहार गरेको फ्रिकिक क्रसबारमा लागेर फर्किएपछि आएको रिबाउन्ड बलमा योगेशले हेडिङ गर्दै गोल गरेका थिए ।

यस्तै, खेलको ५०औं मिनेटमा दिपक राईले आकर्षक ड्रिब्लिङ कौशल देखाउँदै मच्छिन्द्रको अग्रता दोब्बर बनाए । उनले तीन डिफेन्डरलाई छलाएर शानदार गोल गरेका थिए । युवा खेलाडीले भरिएको बीबीसीले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्न नसकेपनि दोस्रो हाफमा भने गोलका सुन्दर अवसर बनाएको थियो । तर, फिनिसिङमा चुक्दा गोल गर्न भने असफल रह्यो ।

खेलको ‘म्यान अफ द म्याच’ चुनिएका मच्छिन्द्रका विशाल राईले १० हजार रुपैयाँ प्राप्त गरे । जितसँगै मछिन्द्रले पहिलो खेलमा ३ अंक प्राप्त गरेको छ । तर, गत सिजन पुछारबाट दोस्रो स्थानमा रहेका कारण अंकतालिकामा भने मछिन्द्रले २ अंक मात्र पाएको छ । एन्फाले गत सिजन रेलिगेसनबिनाको लिग आयोजना गरेको थियो । रेलिगेसन नभएपनि अन्तिम दुई स्थानमा रहने टिमको एक र दुई अंक घटाउने निर्णय गरेको थियो । जसकारण मच्छिन्द्रले पाएको ३ अंकबाट १ अंक घटेर उसले २ अंकमात्र जोडेको हो ।

Featured