देश

’ढोकामा झुण्ड्याइएको बमलाई लट्ठीले चलाएपछि विस्फोट’

काठमाडौं, मंसिर २८–धनुषाको क्षिरेश्वरमा शुक्रबार राति भएको बम विस्फोटनमा परी प्रहरी निरीक्षक (इन्स्पेक्टर) अमिरकुमार दाहाल, घरधनी ४६ वर्षीय राजेश साह र उनका छोरा २४ वर्षीय आनन्दको मृत्यु भयो । मृतक राजेश साहका बुबा भिखारी, छोरी अञ्जली, अर्का छोरा प्रकाश र प्रहरी जवान रिजन महतो घाइते छन् । यो घटनामा गृहमन्त्रालय र प्रहरीले छुट्टाछुट्टै टोली बनाएर अनुसन्धान गरिरहेका छन् ।

अहिलेसम्म घटनाबारे बाहिर आएका तथ्य
राजेश साहको घरको दोस्रो मुख्य ढोकामा राति करिब पौने १२ बजे एउटा रातो रंगको ब्याग झुण्ड्याइएको थियो । त्यसभित्र शक्तिशाली प्रेसर कुकर बम थियो । राति सौच गर्न निस्केकी मृतक राजेशकी श्रीमतीले दुई तल्ले घरतर्फ जाने मूल ढोकामा रातो कपडामा बेरिएको शंकास्पद वस्तु देखेपछि श्रीमानलाई उठाइन् । त्यसपछि अर्कै ढोकाबाट निस्केर परिवारका सम्पूर्ण सदस्यलाई लिएर राजेश करिब तीन सय मिटर टाढा रहेको भाइ राजकुमारको घरमा गए ।

त्यहीँबाट उनीहरुले प्रहरीलाई खबर पनि गरे ।
बम राखिएको सूचना पाएपछि प्रहरी निरीक्षक दाहालसहितको टोली राजकुमारको घर पुग्यो । त्यसपछि राजेश साह परिवारका अन्य सदस्यसहित प्रहरीसँगै घर फर्किए । झोलामा राखिएको प्रेसर कुकर देखे पनि प्रहरी निरीक्षक दाहालले त्यसलाई गम्भीरतापूर्वक लिएनन् अर्थात् तर्साउन मात्र राखेको हुनसक्ने अनुमान उनले गरे । बम राखिएको ढोका नजिकै तीनजना मृतक र घाइते अञ्जली, प्रकाश, प्रहरी जवान महतो थिए । इन्स्पेक्टर दाहालले त्यो झोलालाई लट्ठीले चलाएपछि विस्फोट भएको थियो ।

स्थानीयवासीका अनुसार, विस्फोटमा परी राजेश र छोरा अनन्तको त्यहीँ नै मृत्यु भयो भने गम्भीर घाइते भएका प्रहरी निरीक्षक दाहालको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र्पुयाएपछि मृत्यु भयो । मृतक राजेश साह औषधि व्यवसायी हुन् । मृतक अनन्त कक्षा १० मा अध्ययनरत थिए भने उनका घाइते भाइ प्रकाश ८ कक्षामा पढ्छन् । विस्फोटका कारण पाँच मिटर वरिपरिको पर्खाल चर्किएको छ । प्रेसर कुकरभित्रका छर्राहरूले घरका भित्तामा दाग बनेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले असावधानीकै कारण घटना भएको देखाएको छ ।

मृतक राजेशको करिब एक सय मिटरको दूरीमा अर्को पनि घर छ । त्यो घरमा औषधी पसल, डेरी उद्योगलगायत व्यवसायिक कारोबार हुन्छ । व्यवसायी भएकाले लेनदेनको विषय कारण हुनसक्ने प्रहरीको आशंका छ । यद्यपि, बम विस्फोटको सम्बन्ध योसँग भए–नभएकोबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका तीनजना स्थानीय नेतालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

Featured