खेलकुद देश

सागमा कराते र साइक्लिङमा पदक जित्ने खेलाडी सम्मानित

काठमाडौं, मंसिर २८–ललितपुर जिल्ला कराते महासंघले १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत करातेमा पदक जित्न सफल ललितपुरका खेलाडी र प्रशिक्षकलाई शनिवार नगदसहित सम्मान गरेको छ । करातेको पुरुष ८४ केजीमाथि विप्लवलाल श्रेष्ठले स्वर्ण, पुरुष ८४ केजीमुनि दिवस श्रेष्ठले रजत तथा पुरुष टिम कुमुतेमा मुकुन्द्र महर्जन र विनोद शाक्य गुभाजुले कांस्य जितेका थिए ।

स्वर्ण विजेतालाई २५ हजार, रजतलाई १५ हजार र कांस्यलाई समान १०–१० हजार नगद पुरस्कार प्रदान गरियो । काता प्रशिक्षकद्वय गोपाल महर्जन र गंगाराम महर्जन तथा कुमुते प्रशिक्षक दीपक श्रेष्ठलाई जनही १५ हजार नगद पुरस्कार दिइयो । सोही अवसरमा निर्णायकद्वय राजेन्द्र कपाली र महेश रन्जितलाई जनही १० हजार नगद पुरस्कारबाट पुरस्कृत गरियो । उनीहरुलाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जन, ललितपुर जिल्ला कराते महासंघका अध्यक्ष सानुलाल श्रेष्ठलगायलतेसम्मान गरे ।

साइक्लिङका स्वर्ण विजेता बुद्धि तामाङलाई नगदसहित सम्मान
गोंगबुस्थित युरो किड्सले पनि सागअन्तर्गत साइक्लिङका स्वर्ण विजेता बुद्धिबहादुर तामाङलाई शनिवार सम्मान गरेको छ । युरो किड्सले आफ्नो वार्षिक खेलकुद दिवसका अवसरमा तामाङलाई नगदसहित सम्मान गरेको हो । उनले पुरुष क्रस कन्ट्रीको २० किलोमिटर दूरीमा स्वर्ण जितेका थिए । तामाङसहित नेपालले विभिन्न स्पर्धामा ४ स्वर्ण जितेको थियो । सागको साइक्लिङमा नेपालले पहिलो पटक स्वर्ण जितेको हो । तामाङले १२औं सागमा पनि सहभागिता जनाएका थिए । त्यस बेला रोड रेसमा सहभागिता जनाएका तामाङ समग्रमा चौथो भएका थिए । युरो किड्सका अध्यक्ष प्रमोद पाण्डे, निर्देशक राजन कार्कीलगायतले तामाङलाई प्रशंसापत्र र नगद १० हजार रुपैयाँ प्रदान गरी सम्मान गरे ।

Featured