देश

भारतबाट १० बालकको उद्धार

जनकपुरधाम, मंसिर २८–भारत बिहारको सितामढीबाट १० जना बालकको उद्धार गरिएको छ । मजदुरी गराउन लगिएको बालकलाई सामाजिक अभियन्ता सरोज राय र कुलदिप साहको नेतृत्वमा मंसिर २६ गते उद्धार गरिएको हो । उद्धार गरिएका बालकमध्ये ७ जनालाई मजदुरी गराउन दलालले भारतको पञ्जाव, हरियाणा लगायतको ठाँउमा लैजान लागेका थिए । वीरगञ्जबाट चोरेर लगिएका ३ जना बालकलाई भने भारतमा माग्ने काममा लगाइएको थियो । उद्धार गरिएका बालकहरुको उमेर ७ देखि १७ वर्ष रहेको अभियन्ता साहले बताए ।

साहका अनुसार सर्लाही चन्द्रनगरका विवेक माझी, विक्रम माझी, रवि कुमार, सन्तोष माझी, सन्दिप माझी, रूपेश माझी र राजु माझीको उद्धार गरिएको हो । भारतको विभिन्न शहरमा राम्रो तलबमा काम लगाईदिने प्रलोभन देखाएर उनीहरुलाई लैजाँदै गर्दा सीमावर्ती क्षेत्र सोनवरसाबाट एक महिनाअघि दलाललाई समेत पक्राउ गरिएको थियो । त्यसपछि बालकलाई बालगृह सितामढीमा राखिएको थियो ।

वीरगंजको घण्टाघरबाट चोरेर भारत लगिएका ७ देखि ८ वर्षका बालकहरु सर्लाही लालबन्दी– २ को विरवल पासवान, रामनगर– ६ का मोहम्मद सदरे आलाम नदाफ र वीरगंज घर बताउने किसन पटेल रहेका छन् । घण्टाघरमा खेल्दै गर्दा घुमाई दिने भन्दै तीनै जना बालकलाई ललाइफकाई रक्सौल लगेर चार दिनसम्म भिख माग्ने कार्यमा लगाइएको थियो । सितामढी हुँदै अन्यत्र लैजान लाग्दा भारतीय प्रहरीले एक पुरुष र दुई महिला चोरलाई समेत पक्राउ गरेका थिए ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव र सर्लाहीका प्रमुख जिल्ला अधिकारीको सिफारिस पत्रको आधारमा कानुनी प्रक्रिया पूरा गरी झण्डै १ महिनापछि बालकहरुलाई बिहीबार उद्धार गरिएको जनकपुरका सामाजिक अभियन्ता साहले बताए । साहका अनुसार आठ जना बालकलाई स्थानीय जनप्रतिनिधिहरुको रोहवरमा अभिभावकको जिम्मा लगाइएको छ । सदरे आलम र किसन पटेललाई भने उनीहरुको अभिभावक नभेटिएकाले मलंगवास्थित महिला शान्ति सेवा केन्द्रमा राखिएको छ ।

Featured