देश

तीन दिनभित्रै धनगढी विमानस्थल पूर्ण रुपमा सञ्चालन गरिने

धनगढी, मंसिर २८–मंसिरदेखि आंशिक रूपमा बन्द रहेको धनगढी विमानस्थल मर्मतको काम ७५ प्रतिशत सम्पन्न भएको छ । धावनमार्ग मर्मत सम्भार र विस्तारको कामलाई निरन्तरता दिनका लागि १ मंसिरबाट आंशिक रूपमा विमानस्थल बन्द गरिएको थियो । विमानस्थलको काम अहिलेसम्म ७५ सकिएको र १ पुसबाट पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी गरिएको विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बताए । धावनमार्गमा मर्मत सम्भार र विस्तारको काम बाँकी रहेको भन्दै एक महिनाका लागि दिउँसो तीन बजेदेखि बिहान ७ बजेसम्म विमानस्थल बन्द गर्ने निर्णय गरिएको थियो । ’सोहीअनुसार, अहिले विमानस्थलको मर्मत कार्य भइरहेको छ । विमानस्थलको धावनमार्गमा ओभरलेको काम अन्तिम चरणमा पुगिसकेकाले १ पुसदेखि विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ,’ बुढथापाले भने ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाइ र १८ सय मिटर लम्बाइको कालोपत्रे धावनमार्ग छ । झन्डै १८ करोडमा धावनमार्गमा थप कालोपत्रे भइरहेको छ भने दुवैतर्फ २र२ मिटर धावनमार्ग फराकिलो बनाउने योजना छ । १८ करोडको लागतमा विमानस्थल मर्मतको काम भइरहेको बुढथापाले जानकारी दिए । अहिले दैनिक ३ वटा उडान मात्रै भइरहेको छ भने हप्ताको तीन दिन नेपाल एयरलाइन्सले उडान भर्दै आएको छ । आंशिक रूपमा विमानस्थल बन्द भएपछि बुद्ध एयरले दैनिक एउटा उडान हटाएको छ ।

यात्रुहरूले पनि मर्मतको क्रममा आफूहरूलाई केही समस्या रहे पनि यसको दीर्घकालीन समाधान खोजिनुपर्ने बताएका छन् । यसअघि जेठमा एक महिना विमानस्थल बन्द गर्दै धावन मार्गको मर्मत र पार्किङ क्षेत्र विस्तारको काम गरिएको थियो । तर त्यति बेला काम सम्पन्न नभएकोले १ मंसिर १ देखि विमानस्थल आंशिक रूपमा बन्द छ । १८ सय मिटरमध्ये चार सय २० मिटर धावनमार्गमा ओभरलेको काम बाँकी रहेकोमा त्यसलाई १ मंसिरदेखि निरन्तरता दिइएको हो ।

Featured