खेलकुद देश

‘खेलकुदको विकासमा पनि गण्डकी प्रदेश पहिलो नै हुन्छ’

पोखरा, मंसिर २८–१३औं दक्षिण एसियाली खेलकुद (साग)को समापनको अवसरमा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले खेलकुद विकासमा पनि प्रदेश सरकार पहिलो नै हुने बताएका छन् । प्रदेश सरकारले आयोजना गरेको सो कार्यक्रममा मुख्यमन्त्री गुरुङले विकासनिर्माणका लागि गण्डकी प्रदेश सरकार पहिलो भएजस्तै खेलकुद क्षेत्रको समग्र विकास र खेलाडीहरुको उचित सम्मानमा पनि पहिलो हुने बताएका हुन् ।

पदक विजेता खेलाडीलाई प्रदेश सरकारको तर्फबाट बधाई दिँदै मुख्यमन्त्री गुरुङले सबै खेलाडीलाई नगदसहित सम्मान गर्ने बताए । निकै चुनौती र अवसरका बीच सम्पन्न भएको १३औं साग सफलतापुर्वक सम्पन्न गर्न सबैले खेलेको भूमिकाका लागि उनले आभार व्यक्त गरे । सागको तयारीमा निकै ढिलाइ र तालमेलको अभाव रहेको बताउँदै मुख्यमन्त्री गुरुङले भने, ‘घरमा आगो लागिसकेपछि इनार खनेजस्तै गरी सागको तयारी सुरु गरिएको थियो । तैपनि समग्रमा साग सफलतापुर्वक सम्पन्न भएको छ । अब पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि जुट्न सबैसमक्ष म आग्रह गर्दछु ।’

उनले राष्ट्रिय खेलकुदको सबै कुरा योजनावद्ध रुपमा अघि बढेमा प्रदेश सरकारको प्रतिष्ठासमेत माथि उठ्ने बताए । मुख्यमन्त्री गुरुङले नवौं राष्ट्रिय खेलकुदमा गण्डकीलाई पहिलो बनाउन सबै खेलाडी र प्रशिक्षकलाई तयारी थाल्न आग्रहसमेत गरे । सो अवसरमा मुख्यमन्त्री गुरुङले साग सम्पन्न गर्न सहयोग गर्ने विभिन्न खेलकुदका संस्थाहरुलाई सम्मानपत्र प्रदान गरे ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले कठिन परिस्थितिमा साग सम्पन्न गर्न भूमिका खेल्ने सबैलाई धन्यवाद व्यक्त गरे । उनले पोखरेली खेलप्रेमीहरुको सहयोग र सञ्चारमाध्यमले खेलेको भूमिकाका लागि धन्यवाद दिंदै अब नवौं राष्ट्रिय खेलकुदका लागि जुट्न र सफल बनाउन आग्रह गरे ।

Featured