देश

कावासोतीमा बस दुर्घटना: नेपाली सेनाका १७ जना घाइते

कावासोती, मंसिर २८–पूर्वी नवलपरासीको कावासोती–३ पुरानो कावासोती बजारमा नेपाली सेना बोकेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको टोली बोकेको ना ६ ख ४०४ नम्बरको बस शनिबार बिहान ३ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भई सडकबाट तल खसेको जनाइएको छ । घाइते १७ जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल र कालीगण्डकी अस्पतालमा उपचार भएको छ ।

गम्भीर घाइते प्रेमबहादुर खत्री र वीरेन्द्र शाहीको थप उपचारका लागि चितवन पठाइएको छ । नेपाली सेनामा भर्ना छनोट भएर तालिमका लागि टोलीलाई काठमाडौं लैजाँदै गर्दा बस दुर्घटनामा परेको हो । ३ वटा बससँगै रहेकोमा एउटा बस दुर्घटनामा परेको हो । बसमा ४० जना सवार रहेका थिए ।

Featured