देश

महानगर दिवसमा माइतीघर मण्डलादेखि तीनकुने सम्म साइकल र्याली

काठमाडौं, मंसिर २८–काठमाडौं महानगरलाई साइकलमैत्री सहरका रुपमा बिकास गर्न पूर्वाधारतर्फ काम गर्ने सडक बिभागलगायत अड्डासँग निरन्तर छलफल चलिरहेको बताउँदै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले, ठूला सडक महानगरको क्षेत्राधिकारमा नभएकाले इच्छा र श्रोत भएर पनि काम गर्न कठिन भएको अनुभव सुनाए । २५औं महानगर दिवसका अवसरमा शनिबार बिहान माइतीघर मण्डलादेखि तीनकुनेसम्मको रुटमा साइकल ¥यालीको शुभारम्भ गर्दै मेयर शाक्यले एकीकृत र समन्वयात्मक विकासका लािग महानगरले नेतृत्व गरिरहेको बताए ।

‘काठमाडौंलाई साइकल सिटी बनाउने मेरो चुनावी घोषणा पत्रमा पनि उल्लेख थियो । त्यसमा म प्रतिबद्ध छु । तर, ठूला सढक महानगरको जिम्मामा नभएकाले सोच कार्यान्वयन हुन सकिरहेको छैन । सोच कार्यान्वयन गर्ने वातावरण तयार भइरहेको छ,’ उनले भने । साइकल मार्गसँगै पैदल यात्रीलाई सहजतापूर्वक हिँड्ने बाटो बनाउने, सढक सुरक्षा र पार्किङ व्यवस्थापनमा एकीकृत कार्यक्रम गर्ने हाम्रो लक्ष्य रहेको मेयर शाक्यले बताए ।

त्यस अवसरमा बोल्दै महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले साइकल यात्रालाई व्यवस्थापन गर्नसके सहरी यातायात, वातावरण र सहरी स्वास्थ्य सुधारमा सघाउ पुग्ने कुरामा आफू विश्वस्त रहेको बताइन् । साइकल यात्रीहरुको उत्साहलाई प्रवर्धन गरेर सहरलाई साइकल यात्रा गर्न सहज बनाउने प्रतिवद्धता जनाइन् । काठमाडौंलाई साइकलमैत्री बनाउन महानगरको सहरी योजना आयोगले मातीघरदेखि तीनकुनेसम्म लेन व्यवस्थापन गर्ने, अन्य ठाउँमा साइकल मार्ग तयार पार्दा आवश्यक पर्ने इञ्जिनियरिङ् सम्बन्धि जानकारी पुस्तिका तयार पार्ने र एउटा साइकल लेनलाई अर्को लेनसम्म सञ्जाल गर्ने गरी ३ वटा कामलाई प्राथमिकतासाथ अघि बढाएको छ ।

कार्यक्रममा सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले सबैको सहभागितामा योजना प्रभावकारी कार्यान्वयन हुने बताए । ‘माइतीघरदेखि तीनकुनेसम्मको क्षेत्रमा साइकल गुडाउन आजभन्दा ६ वर्ष अगाडि नै काम थालिएको थियो । तर गलत डिजाइनका कारण यो सञ्चालनमा आउन सकेको थिएन,’ नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्न श्रेष्ठले अनुभव सुनाए । साइकलमैत्री सहर बनाउन पूर्वाधारको आवश्यकता जति छ, यसको साइकल प्रयोगकर्ताएको संख्यामा पनि वृद्धि हुन जरुरी रहेको उनले बताए । यसका लागि प्रबर्धनात्मक कार्यक्रम आवश्यक पर्ने भएकोले ¥यालीको आयोजना गरिएको हो । सहरी योजना आयोगको सचिवालय प्रमुख रविनमान श्रेष्ठ भन्छन्, ‘सबैका लागि सहर बनाउने हाम्रो अभियान हो ।’

Featured