Uncategorized

धनुषा बमकाण्डका दोषीलाई कारबाही गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं, मंसिर २८–गृहमन्त्री रामबहादुर थापाले धुनषाको बम काण्डका दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् । शुक्रबार मध्यराति भएको बम विस्फोटनमा प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । घाइतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । गृहमन्त्री थापाले बम विष्फोटमा प्रहरीसहित तीन जना मारिएको घटनाले निकै स्तब्ध भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा गएराति भएको विष्फोटमा परी नेपाल प्रहरीका, प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश्वर साह, आनन्द साहको मृत्यु तथा तीन जना स्थानीय घाइते भएको घटनाले स्तब्ध बनाएको छ । मृतकहरूमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु’, उनले विज्ञप्तिमा भनेका छन्, ‘यसप्रकारको आततायी घटनामा संलग्न अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याई छाड्ने सरकारको तर्फबाट प्रतिबद्धता व्यक्त गर्दछु ।’

Featured