देश राजनीति

बलात्कार प्रयासको आरोपमा पक्राउ वडाध्यक्ष रिहा गर्न कांग्रेसको जुलुस

जनकपुरधाम, मंसिर २७–बलात्कार प्रयासको आरोपमा पक्राउ परेका सप्तरीको शम्भुथान नगरपालिका–१२ का वडाध्यक्ष लक्ष्मी साहको रिहाइको माग गर्दै नेपाली कांग्रेसले आज राजविराजमा विरोध प्रदर्शन गरेको छ । नियोजित तरिकाले रचिएको षड्न्त्रबारे सुक्ष्म अनुसन्धान नै नगरी वडाध्यक्ष साहलाई झुठो मुद्दा लगाई प्रहरीले पक्राउ गरेको आरोप लगाउँदै कांग्रेसले विरोध प्रदर्शन गरेको हो । कांग्रेसले झुठो मुद्दा खारेज गरी वडाध्यक्ष साहलाई अबिलम्ब रिहा नगरे आन्दोलन चर्काउने चेतावनी समेत दिएको छ ।

स्थानीय ३५ वर्षिया एक महिलाले आफुलाई गाउँकै कुखुरा फार्ममा १० दिन अघि वडाध्यक्ष साहले बलात्कारको प्रयास गरेको भन्दै उजुरी दिएपछि अनुसन्धानका लागी गत बुधबार बिहान प्रहरीले साहलाई नियन्त्रणमा लिएको थियो । राजविराजको राज रंगशालाबाट सुरु भएको विरोध जुलुसमा महिलाको पनि उल्लेख्य सहभागिता थियो । प्रहरी प्रशासनविरुद्घ चर्को नाराबाजी गर्दै प्रदर्शनकारीले बजार परिक्रमा गरेका थिए । बजार परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई ज्ञापन पत्र समेत बुझाइएको छ । ज्ञापनपत्रमा निर्दोष वडाध्यक्षलाई झुठो उजुरीको आधारमा सत्यतथ्य छानबिन नै नगरी मुद्दा दर्ता गरिएकोमा कडा आपत्ती जनाउँदै घटनाको उच्चस्तरिय छानबिन हुनुपर्ने माग गरिएको छ ।

प्रतिशोधको भावनाले नियोजित तरिकाले वडाध्यक्ष साहलाई फँसाइएको उल्लेख गर्दै ज्ञापन पत्र मार्फत् तत्काल उनको रिहाइको पनि माग गरिएको छ । नेपाली कांग्रेसका सभापति दिनेशकुमार यादवले स्थानीय केही व्यक्तिले षडयन्त्र गरी वडाध्यक्ष साहलाई फँसाउन खोजेको दाबी गर्दै झुठो मुद्दा खारेजी नगरे आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

Featured