देश

पूर्वअर्थमन्त्री पौडेलद्वारा विभिन्न आयोजनाको निरीक्षण

बुटवल, मंसिर २७–पूर्वअर्थमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले शुक्रबार कोरियन नेपाल टेक्निकल इन्स्टिच्युटलगायत बुटवलका विभिन्न निर्माणाधीन आयोजनाहरूको निरीक्षण गरेका छन् । स्थलगत रूपमै निरीक्षणका क्रममा उनले सम्बन्धित सरोकारवालालाई निर्माणाधीन आयोजना समयमै सक्न र कोरियन नेपाल टेक्निकल इन्स्टिच्युटको व्यवस्थापकीय क्षमता बढाएर अझै दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी अघि बढ्न आग्रह गरेका छन् ।

कोरियन नेपाल टेक्निकल इन्स्टिच्युटको अवलोकनका क्रममा पूर्र्वअर्थमन्त्री पौडेलले प्राज्ञिक जनशक्ति उत्पादन गर्ने यो संस्थाको व्यवस्थापकीय क्षमता बढाउनु जरुरी रहेको भन्दै यसका लागि सीटीईभीटीको नेतृत्व र शिक्षामन्त्रीसँग बसेर गृहकार्य गर्न सुझाव दिए । त्यस्तै, उनले बेलबास–बेथरी सडकका साथै बुटवलका निर्माणाधीन विभिन्न सडक आयोजनाहरूको पनि अवलोकन गरे । बेलबास–बेथरी सडक पर्यटकीय मार्गसमेत भएकाले निर्माणलाई गति प्रदान गर्न कुनै कसर बाँकी राख्न नहुने भन्दै उनले जनप्रतिनिधिलाई विशेष भूमिका खेल्न आग्रह गरे ।

निर्माणमा आइपर्ने बाधा अवरोध हटाउन पनि जनप्रतिनिधिले समन्वयकारी भूमिका खेल्नुपर्ने भन्दै उनले सडक आयोजना सम्पन्न गर्न बजेटको कमी हुन नदिने प्रतिवद्धता जनाए । रुपन्देही–२ बाट निर्वा्चित प्रतिनिधिसभा सदस्यसमेत रहेका पौडेलले सेमलार–मोतीपुर सडक पनि अवलोकन गरेका छन् । बुटवलका विभिन्न वडाका जनप्रतिनिधिसहित अवलोकनमा पुगेका पौडेलले सम्बन्धित निर्माण कम्पनीसँग आयोजना समयमै सक्नेगरी समन्वयात्मक भूमिका खेल्न आग्रह गरे ।

‘जनप्रतिनिधि विकासका संवाहक हुन्, आयोजनामा भइरहेको ढिलासुस्तीबारे आवाज उठाउने र अवरोध हटाउनेतर्फ जनप्रतिनिधिको ठूलो भूमिका हुन्छ,’ उनले भने, ‘यो क्षेत्रमा निर्माणाधीन आयोजना सम्पन्न गर्ने कुरामा ढिलासुस्ती हुनु हुँदैन ।’ त्यस्तै, उनले अन्य सडक आयोजनाहरूका साथमा तिनाउ नदीमा निर्माणाधीन विभिन्न पुलहरूको समेत अवलोकन गरे । उनले शुक्रबारै पिसपार्कको पनि अवलोकन गर्दै बुटवलको पिसपार्क पर्यटकीय क्षेत्रको रूपमा विकास हुँदै गएको बताए । उनले पिसपार्कलाई अझ व्यवस्थित रूपले विकास गर्नुपर्नेमा जोड दिए । त्यसैगरी, पौडेलले बुटवल मण्डपमा निर्माणको क्रममा रहेको अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रको अवलोकन गरी आयोजनाको प्रगतिबारे जानकारी लिए ।

उनले नहरपुर मावि बुटवलको स्वर्ण महोत्सव समारोहलाई पनि शुक्रबार सम्बोधन गरे । त्यसक्रममा उनले शैक्षिक जनशक्ति उत्पादनमा सामुदायिक विद्यालयहरूको महत्त्वपूर्ण योगदान रहने भन्दै गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरे । ‘प्राविधिक र गुणस्तरीय शिक्षा मुलुकले खोजिरहेको छ, अब सामुदायिक विद्यालयहरू निजी विद्यालयहरूसँग प्रतिस्पर्धामा उत्रिनु जरुरी छ,’ उनले भने । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सरकारले गर्ने प्रयासका बारेमा आफूले पनि भूमिका खेल्ने उनको भनाइ थियो ।

Featured