देश

गढीमाईमा बलि चढाइएका प्राणीप्रति श्रद्धाञ्जली

काठमाडौं, मंसिर २७–गढीमाई मेलामा हुने पशुबलिलाई रोक्न श्रीकृष्ण प्रणामी समाजको आयोजना र अन्य अहिंसाप्रेमी संघसंस्थाहरूको सहभागितामा काठमाडौंको माइतीघर मण्डलासहित अन्य जिल्लाहरूमा शुक्रबार साँझ श्रद्धाञ्जली दीप प्रज्ज्वलन गरिएको छ ।

चौतर्फी दबाबका बीच पनि हजारौँ पशुपन्छीहरूको बलि दिइएकाले ती अबोध प्राणीहरूको आत्माले चीरशान्तिको कामनासहित दीप प्रज्ज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको आयोजकले जनाएको छ । सो अवसरमा श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष श्याम केसीले हिन्दु धर्मको मुख्य मर्म ‘अहिंसा परमो धर्म’ भन्ने भावनामा पशुबलिले कुठाराघात गरेको भन्दै आगामी दिनमा अझ सशक्त रूपमा विरोधका कार्यक्रम गरिने बताए ।

अन्य वक्ताहरूले मन्दिरलाई बधशालामा रूपान्तरण गरेको भन्दै खेद व्यक्त गरे । पशुपतिको देशमा पशुको हत्या अत्यन्त अशोभनीय, निन्दनीय कर्म भन्दै बुद्ध नेपालमा जन्मेका हुन् भनेर गर्व गरेको तब मात्र अर्थ रहने, जब बुद्धले देखाएको अहिंसाको बाटोमा हिँड्ने संकल्प हामी गर्छौं भन्ने वक्ताहरूको भनाइ थियो ।

Featured